धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले यस वर्ष १६३ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाएको छ। उपमहानगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने उद्देश्यले उनीहरूलाई मुक्तिनाथ यात्रामा पठाएको हो।

सोमबार नगर प्रमुख गोपाल हमालसहित जनप्रतिनिधि तथा कर्मचारीले तीर्थयात्रीको टोलीलाई बिदाइ गरेका छन्। टोलीलाई बिदाइ गर्दै नगर प्रमुख हमालले यात्रामा स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने भएकाले स्वास्थ्यकर्मीसहित पठाइएको जानकारी दिए। उनले यात्राका क्रममा कुनै समस्या आए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न आग्रहसमेत गरे।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि हरेक वर्ष ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाउँदै आएको छ। कार्यक्रमको पहिलो वर्ष १३१ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ लगिएको थियो। आर्थिक वर्ष २०८०/८१ मा १४० जना, २०८१/८२ मा १३१ जना र २०८२/८३ मा १५० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई मुक्तिनाथ दर्शन गराइएको थियो।
उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा पठाइएका १६३ जनासहित हालसम्म ७१५ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएका छन्।

















