खाेज्नुहाेस

अत्तरियामा प्रदेश स्तरीय बी र गोदावरी स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने

Image
अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम स्तरीय ‘गोदावरी मेयर कप’ बी र गोदावरी नगर स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । गोदावरी खेलकुद विकास मञ्च अत्तरियाको आयोजनामा  प्रथम संस्करणका रूपमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
attariya hospital
आयोजक मञ्चले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक १८ गते देखि गोदावरी नगर स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । मञ्चका सचिव धर्म सिंह कुँवरले सी लेबल प्रतियोगितामा गोदावरी नगरपालिकाभित्रका खेलाडी तथा कर्मचारीहरूले व्यक्तिगत रूपमा सिंगल्स तर्फ नाम दर्ता गरेर सहभागिता जनाउन सक्ने बताए । सी लेभलतर्फ सहभागी हुनका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।
यसै गरी, सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने तथा कामकाजको सिलसिलामा प्रदेशमा रहेका खेलाडीहरूलाई लक्षित गर्दै सुदूरपश्चिम स्तरीय बी लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । उक्त प्रतियोगिता कात्तिक २०, २१ र २२ गतेसम्म सञ्चालन हुने सचिव कुँवरले बताए ।
बी लेभल प्रतियोगिताका लागि प्रतिटिम दुई हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
बी लेभल प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुने टोलीले नगद ३१ हजार १११ रुपैयाँ र तेस्रो हुने टोलीले नगद १० हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
मञ्चले गोदावरी नगरपालिकाभित्रका खेलाडी तथा कर्मचारीलाई लक्षित गर्दै आयोजना गरेको सी लेभल ब्याडमिन्टन प्रतियोगिता विजेतालाई १५ हजार १११ रुपैयाँ पुरस्कार दिइने सचिव कुँवरले बताए ।

व्यवस्थापन समिति गठन 
navjiwan hospital
खेल सञ्चालनका लागि विभिन्न व्यवस्थापन समिति गठन गरिएको आयोजकले जनाएको छ । जसअन्तर्गत खेल व्यवस्थापनका लागि सन्तोष भट्ट, गोविन्द भट्टराई र राज कुमार साउँदलाई जिम्मेवारी दिइएको छ । त्यस्तै कोर्ट व्यवस्थापनका लागि आषिस भट्टराई, जय बहादुर कुँवर, हरिस भट्ट, लक्ष्मण कुँवर, सरोज बोहरालाई जिम्मेवारी दिइएको छ ।
यस्तै लाइन्स मेनका लागि वीरेन्द्र बम, अनिल बोहरा, धिरेन्द्र बोहरा, माधव भट्ट, सरोज बोहरा, किशोर पुन, राजेन्द्र भट्ट, अंकित महरालाई जिम्मेवारी दिइएको मञ्चका सचिव धर्म सिंह कुँवरले बताए । उनले मिडिया संयोजक राजकुमार साउँद, अफिसियल संयोजक सन्तोष भट्ट, रेफ्रि मान बहादुर शाही, प्रकाश सिंह, अशोक धामीलाई तोकिएको बताए ।
टिम दर्ताका लागि राम बहादुर कुँवर, वीरेन्द्र बम, जय बहादुर कुँवर, धिरेन्द्र बोहरालाई जिम्मेवारी दिइएको छ । सचिव कुँवरले अतिथि सत्कारका लागि देवराज भट्टलाई जिम्मेवारी दिइएको र प्राथमिक उपचारका लागि एपीएफ फिल्ड अस्पतालका वीरेन्द्र बमलाई जिम्मेवारी दिइएको बताए ।
ब्याडमिन्टनको क्रेज बढ्दै
मञ्चका अध्यक्ष तेज बहादुर खड्काले ब्याडमिन्टन प्रतियोगिता स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको बताए । उनले पछिल्लो समय अत्तरियामा ब्याडमिन्टनको क्रेज बढ्दै गएको बताउँदै यसलाई थप व्यवस्थित बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
‘केही वर्ष अघि केही व्यक्ति मात्रै ब्याडमिन्टन खेल्ने गरेको पछिल्लो समय अत्तरियामा मात्रै सयाैंको सङ्ख्यामा ब्याडमिन्टन खेल्ने गरेका छन्’ उनले भने ‘अत्तरियामा बढेको क्रेजलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्दै छौ ।’ उनले प्रतियोगिता प्रदेशका सबैलाई समेट्ने भएकाले सबैको साथ सहयोग पाउने अपेक्षा लिइएको बताए ।
प्रतियोगितामा ६० भन्दा बढी टिम सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । गोदावरी नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा अन्य विभिन्न दाताहरूले पनि सहयोग गरिरहेको अध्यक्ष खड्काले बताए ।