खाेज्नुहाेस

एनपीएल तेस्रो संस्करणमा काठमाडौंले हात पार्‍यो पहिलो जित

Image

काठमाडौं – काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकाल्न सफल भएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १८१ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएर प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको हो । यो जितसँगै विश्व क्रिकेटका लिजेन्ड डेभिड वार्नरको एनपीएल डेब्यु सुखद् बनेको छ ।

attariya hospital

काठमाडौँको जितमा मध्यक्रमका ब्याटरहरूले सङ्घर्षपूर्ण र उत्कृष्ट ब्याटिङ गरे । कप्तान करण केसीले मात्र २० बलमा ४ चौका र ३ छक्काको मद्दतले आक्रामक ४४ रन जोडे ।

navjiwan hospital

त्यस्तै, राशिद खानले ३३ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दै टोलीको जितको आधार खडा गरे । ओपनरका रूपमा मैदान उत्रिएका डेभिड वार्नर भने ब्याटिङमा लामो समय टिक्न सकेनन् र १० बलमा ३ चौका प्रहार गर्दै १६ रनमा आउट भए । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले नै बोल्ड आउट गरेका थिए ।

खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले १९औँ ओभर स्पिनर पवन सर्राफलाई सुम्पने गरेको निर्णय टोलीका लागि भारी पर्‍यो । अन्तिम २ ओभरमा काठमाडौँलाई जितका लागि ३१ रन आवश्यक भइरहेका बेला सोमपालले तेज बलरको सट्टा पवनलाई बल थमाएका थिए, जसमा काठमाडौँका ब्याटरहरूले १७ रन प्रहार गर्दै खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिए ।

पवनले आफ्नो एक मात्र ओभरमा १७ रन खर्चिएपछि कर्णाली जितको नजिक पुगेर पनि पराजित हुन पुग्यो । कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई–दुई तथा नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । कर्णालीका लागि आरिफुल इस्लामले ४४, हुसैन तलातले ४० र पवन सर्राफले अविजित ३० रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । काठमाडौंसँग पराजित कर्णालीको जारी एनपीएलमा पहिलो हार हो ।

काठमाडौंका करण केसीले दुई तथा शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक–एक विकेट लिए ।