अत्तरिया – कैलाली जिल्ला स्तरीय स्कुल डान्स कम्पिटिसन सिजन–३ को उपाधि सत्यवती एकेडेमीमा अध्ययनरत डीजी बोहराले जितेकी छन्। कक्षा ७ मा अध्ययनरत गोदावरी नगरपालिका–१० मालाखेतीकी बाेहराले शनिबार सम्पन्न फाइनलमा उपाधि जित्न सफल भएकी हुन्।
प्रतियोगितामा गोदावरी पब्लिक स्कुलमा अध्ययनरत गोदावरी नगरपालिका–४ की प्रियङ्का मल्ल प्रथम रनरअप भएकी छन्। त्यस्तै, मोहना मल्टेश्वरी स्कुलमा अध्ययनरत गोदावरी नगरपालिका–११ ओलानीकी एलिजा धामी दोस्रो रनरअप भएकी छन्।

यसैगरी, गोदावरी नगरपालिका–२ की सृष्टि बिसी चौथो र गोदावरी नगरपालिका–३ खमौराकी सुदिक्षा ताम्राकार पाँचौँ स्थान हासिल गर्न सफल भएका छन्।

वन वे डान्स क्याम्पको आयोजनामा गत साउन ८ गतेदेखि सुरु भएको प्रतियोगिताको तेस्रो संस्करणमा जिल्लाभरबाट ६ सय जना विद्यार्थी सहभागी भएका थिए। विभिन्न चरण पार गर्दै १६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए। फाइनलमा विजेता छनोट शतप्रतिशत भोटिङका आधारमा गरिएको थियो।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार १५१ रुपैयाँ, द्वितीय हुनेले ३० हजार १५१ रुपैयाँ र तृतीय हुनेले २० हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन । चौथो र पाँचौँ स्थान हासिल गर्नेले समेत सान्त्वना पुरस्कार दिइएकाे थियाे ।
प्रतियोगिताले गोदावरीसहित कैलाली जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो नृत्य प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियाे।



















