अत्तरिया – चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले इलामबाट सत्याग्रह सुरु गरेपछि सुदूरपश्चिममा असन्तुष्टि देखिएको छ । विशेषगरी कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्ने विषयमा डा. केसीले उठाएका प्रश्नप्रति यस क्षेत्रका नागरिक तथा विश्वविद्यालय स्थापनाका पक्षधरहरूले असन्तुष्टि जनाएका हुन् ।
डा. केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थानमा सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधार, सरकारसँग भएका सहमति कार्यान्वयन, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियामा छानबिनलगायत माग राख्दै उनले सत्याग्रह सुरु गरेका हुन् ।


डा. केसीले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार, जनशक्ति र मापदण्ड पूरा नगरी चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न खोजिएको भन्दै प्रश्न उठाएका छन् । गेटा शिक्षण अस्पताललाई पहिले पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र त्यसपछि मात्रै शैक्षिक कार्यक्रम अघि बढाउनुपर्ने उनको माग छ ।
तर, गेटा विश्वविद्यालयलाई सुदूरपश्चिमको स्वास्थ्य शिक्षा र उपचार सेवाको महत्वपूर्ण आधारका रूपमा हेरिरहेका स्थानीयवासीले उनको पछिल्लो अडानप्रति असन्तुष्टि जनाएका छन् । लामो समयको संघर्ष, आन्दोलन र प्रतीक्षापछि स्थापना भएको विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन प्रक्रियामै प्रश्न उठ्दा यस क्षेत्रको स्वास्थ्य शिक्षा विकास प्रभावित हुन सक्ने उनीहरूको चिन्ता छ ।
यसअघि धनगढीमा डा. केसीले सत्याग्रह सुरु गर्दा पनि उनको विरोध भएको थियो । विश्वविद्यालय स्थापनाका पक्षधरहरूले ‘गो ब्याक केसी’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूले गेटा विश्वविद्यालय सञ्चालनमा अवरोध पुग्ने गरी कुनै पनि गतिविधि हुन नहुने धारणा राख्दै आएका छन् ।
चिकित्सा शिक्षाको गुणस्तर, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनको विषय महत्वपूर्ण भए पनि गेटा विश्वविद्यालयको सञ्चालनलाई अनिश्चित बनाउने अवस्था आउन नहुने भन्दै चिन्ता व्यक्त गरिएकाे छ ।



















