अत्तरिया – कैलालीमा अवैध लागूऔषध ब्राउनसुगर सहित नौ जना पक्राउ परेका छन् । भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–३ मरियाघाटबाट ७ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक रहेका छन् ।


इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो से ४ प ७२४२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।
यस्तै, भजनी नगरपालिका–५ पगियापसारबाट १ ग्राम १ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय दीपक बुढा र १७ वर्षीय किशोर रहेका छन् । बुधबार साँझ से ७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी, धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट ४ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–१ का २९ वर्षीय नराज चौधरी, २१ वर्षीय अनुप चौधरी, १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–३ का २२ वर्षीय प्रेम चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति शंका लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको हो । पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















