कञ्चनपुर – बर्खायाममा बन्द गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी मंगलबारदेखि खुला गर्न लागिएको छ । दसैं–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने भएकाले त्यसअघि नै सफारी खुला गरिएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए ।

‘पानी परिरहेकाले अझै सबै रुटमा सफारी खुला गर्न सकिएको छैन,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘दसैं–तिहारमा घर आउने तथा अन्य पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरेका छौं ।’ उनका अनुसार निकुञ्जको मुख्यालय मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौलाहुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको हो ।

निकुञ्जको प्रमुख आकर्षण शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुग्ने रुट सफा गरिएको छ । घाँसे मैदान व्यवस्थापनको काम पनि भइरहेको छ । दसैंअघि २० हेक्टरसम्म घाँसे मैदान व्यवस्थापनको काम सकिने संरक्षण अधिकृत वाग्लेले बताए ।













