बाजुरा – जिल्ला अस्पताल बाजुरामा प्रहरी अधिकृतले रगत दिएर एक सुत्केरीको ज्यान जोगिएको छ । सोमबार राति बडिमालिका नगरपालिका–७ की गंगा दमाईले शल्यक्रियामार्फत बच्चा जन्माएपछि अत्यधिक रक्तस्राव हुँदा तत्काल रगतको आवश्यक परेको थियो ।
गंगालाई आवश्यक ‘बी पोजेटिभ’ रगत जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शैलेश्वरी बोहरा र प्रहरी निरीक्षक गगनसिंह भाटले दिएपछि उनको ज्यान जोगिएको हो ।

रक्तस्रावका कारण आमाको ज्यान जोखिममा परेको अवस्थामा प्रहरीलाई खबर गरिएको र तत्काल डिएसपी बोहरा तथा प्रहरी निरीक्षक भाटले रगत दिएर ज्यान बचाउन सहयोग गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. हरिस मल्लले बताए ।

गंगा यसअघि नै रक्त अल्पताबाट पीडित थिइन् । त्यसमाथि शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएपछि तत्काल रगत आवश्यक परेको स्वास्थ्यकर्मीले बताए । रगत खोज्ने क्रममा प्रहरीले सहयोग गरेको उनले बताए ।
प्रहरी प्रमुख डिएसपी बोहराले अस्पतालमा रगत अभावका कारण एक आमाको अवस्था जोखिममा परेको जानकारी पाएपछि आफूले रक्तदान गरेको बताइन् ।
बाजुरामा रगत आवश्यक पर्ने गर्भवती, सुत्केरी तथा अन्य बिरामीका लागि अहिले पनि सेना, प्रहरी र स्वास्थ्यकर्मीलाई गुहार्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।
बाजुरामा रक्तदाताको अभाव लामो समयदेखि रहँदै आएको छ । ब्लड बैङ्क नहुँदा बिरामीका आफन्त रगत खोज्दै बजार चाहर्नुपर्ने अवस्था छ ।

















