धनगढी – बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर कैलालीमा १ हजार १४६ जना प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार संवेदनशीलता र जोखिमका आधारमा प्रहरी जनशक्ति विभिन्न स्थानमा परिचालन गरिनेछ ।
मोबाइल तथा पैदल गस्ती, पिकेट, सादा पोशाक, क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ तथा रिजर्भ टोलीसमेत परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


उनका अनुसार चाडपर्वका समयमा बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, बसपार्कलगायत भीडभाड हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढाइनेछ । सम्भावित आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गरिनेछ ।
जिल्लाका संवेदनशील तथा प्रवेश–निकास क्षेत्रमा नियमित र आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ । भारतसँग जोडिएका सीमा क्षेत्रमा चोरी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि विशेष निगरानी गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वमा घर फर्किने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षाका लागि कैलालीका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
















