अत्तरिया – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा केही दिनदेखि अवरुद्ध सिटी स्क्यान सेवा पुनः सुचारु भएको छ। अस्पतालको सिटी स्क्यान मेसिनमा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको थियो। सम्बन्धित कम्पनीका इन्जिनियरले मेसिनको मर्मतसम्भार गरेपछि सोमबार देखि सेवा सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले सोमबार सूचना जारी गर्दै सिटी स्क्यान मेसिनमा आएको प्राविधिक समस्या मर्मत भइसकेकाले सेवा सुचारु भएको जानकारी दिएको हो।


यसअघि भदौ २४ गतेदेखि सिटी स्क्यान सेवा बन्द हुँदा सेतीमा उपचारका लागि आउने बिरामी प्रभावित भएका थिए। मेसिनको मुख्य पार्ट्स ‘ट्युब’ बिग्रिएपछि सेवा रोकिएको र आवश्यक पार्ट विदेशबाट मगाउनुपरेका कारण मर्मतमा ढिलाइ भएको अस्पतालले जनाएको थियो।
सिटी स्क्यान सेवा बन्द हुँदा दैनिक सेवा लिने बिरामीमध्ये करिब २० जनाले पाउँदै आएको उक्त सेवा प्रभावित भएको थियो। सेवा बन्द भएपछि कतिपय बिरामीले निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर सिटी स्क्यान गराउनुपरेको थियो। सेतीमा करिब ४ हजार रुपैयाँमा हुने सिटी स्क्यानका लागि निजी अस्पतालमा १० हजार रुपैयाँसम्म लिने गरिएकाे छ ।















