तिलक राज ओझा/धनगढी– लामो समय पत्रकारिता पेशामा समय बिताएका धनगढी उपमहानगरपालिका– ७ बेलीका स्थानीय लोकेश बोहरा व्यवसायीक रुपमा बाख्रापालन गर्दै आएका छन् । पत्रकारिता पेशामा कार्यरत बोहराले पछिल्लो केही समय यता व्यवसायीक रुपमा बाख्रापालन गर्दै आएका हुन् ।
पत्रकारितापछि कृषि तथा पशुपालन क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यले बाखा पालन व्यवसाय सुरु गरेको बोहराले बताए । ‘धनगढीलाई कार्यक्षेत्र बनाई पाँच बर्ष पत्रकारिता पेशामा काम गरे, त्यस क्रममा समाजमा विभिन्न क्षेत्रमा काम गरिरहेका किसान तथा उद्यमीलाई नजिकबाट बुझने अवसर प्राप्त गरे’ उनले भने ‘त्यसबाट आफूले पनि कुनै उत्पादनमूलक काम गर्नुपर्छ भन्ने सोच बनाएर बाख्रापालन व्यवसाय सुरु गरेको हुँ ।’

सूचना तथा सञ्चार क्षेत्रमा काम गरेको अनुभव लिएका बोहराले अहिले सुदूरपश्चिम खसी, बोका, बाख्रा संकलन केन्द्र तथा खरिद विक्री फर्म मार्फत बाख्रापालनसँगै खसी, बोका खरिदबिक्रीको कारोबार समेत गर्दै आएका छन् । सुदूरपश्चिमका नौवटै जिल्ला, कर्णालीका केही जिल्ला र काठमाण्डौ सम्म बोहराले खसीबोकाको व्यवसायलाई विस्तार गरेका छन् ।
पाँच लाखबाट व्यवसाय सुरु गरेका उनको बाख्रापालन व्यवसायमा हाल ४० लाख हाराहारी लगानी पुगेको छ । बोहराले कृषि पेशाबाटै बार्षिक एक देखी डेढ करोड सम्मको कारोबार गर्दै आएको बताएका छन् । स्थानीय तिन जनालाई रोजगारी समेत दिएका उनले छोराछोरीको शिक्षादिक्षा देखी परिवारको सम्पूर्ण खर्च पनि सोही व्यवसायले धान्दै आएको बताए । बार्षिक कारोबारबाट सबै खर्च कटाएर १५ प्रतिशत जति बचत गर्दै आएको बोहराले बताए ।
बाख्रापालन व्यवसायबाट परिवारको आर्थिक अवस्था सुध्रिनुको साथै आर्थिक प्रगती समेत भएको उनको भनाई छ । ‘यो व्यवसायले घर निर्माण देखी गाडी, विभिन्न ठाउँमा घडेरी जोडेको छु’ उनले भने । उनले कृषि तथा पशुपालनमा चुनौतीहरु थुप्रै भएपनि व्यवस्थीत रुपमा काम गर्न सके आम्दानीको राम्रो स्रोत पनि बन्न सक्ने बताए । ‘कृषि र पशुपालनमा चुनौती छन्’ उनले भने ‘तर व्यवस्थित तरिकाले काम गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्छ ।’

बोहराको बाख्रा खोरमा हाल ६० वटा जति विभिन्न जातका बाख्रा छन । बाख्रा उत्पादनको लागि भारतको राजिस्थान लगायतका स्थानबाट १६ वटा उन्नत जातका जमुनापारी, बोयर, खरी, तोतापारी बाख्रा समेत उनले ल्याएका छन् । उन्नत जातका बाख्रापालन गर्दा पाठापाठी तथा खसीबोका को बजारमा राम्रो माग हुने भएकोले आफूले विभिन्न जातलाई समेटेर व्यवसायलाई विस्तार गरेको उनको भनाई छ ।
बोहराले बाख्राको जात हेरेर जिउँदो रु. ४५० देखी ६०० प्रतिकिलोग्रामका दरले विक्री गर्दै आएको बताए । बार्षिक रुपमा २० हजार जति खसीबोका खरिद विक्री गर्ने गरेको उनले सुनाए । बाख्राको खोर व्यवस्थापनको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीबाट उनले रु. आठ लाख अनुदान समेत पाएका छन् ।
भारत निर्यात बढ्दा खसीबोका उत्पादनमा ह्रास आउने चिन्ता
पछिल्लो समय नेपालबाट खसीबोका भारततर्फ निर्यात हुन थालेपछि स्वदेशमै खसीबोका उपलब्धता घट्न सक्ने र उत्पादनमा समेत ह्रास आउँने चिन्ता बढेको बोहराको भनाई छ ।
उनका अनुसार नेपालमा उत्पादन भएका खसीबोका भारततर्फ निर्यात हुन थालेपछि स्थानीय बजारमा माग अनुसार खसीबोका उपलब्धता हुन कठीन हुनसक्छ । निर्यातका कारण तत्काल किसानले राम्रो मूल्य पाउने अवस्था देखिए पनि लामो समयसम्म स्वदेशी बजारमा खसीबोका आपूर्ति व्यवस्थापनमा चुनौती आउन सक्ने उनले बताए ।
‘नेपालमा उत्पादन भएका खसीबोका भारततर्फ जान थालेपछि किसानले तत्काल राम्रो मुल्य पाउँन सक्लान, तर ठूलो मात्रामा निर्यात हुन थाल्यो भने स्वदेशमै खसीबोकाको संख्या घट्ने र उत्पादनमा समेत असर पर्न सक्छ’ उनले भने । उनले राम्रो मुल्यकै लागि विदेशमा बिक्रि वितरण गर्दा भविष्यमा व्यवसायमै खतरा बढ्न सक्ने भएकाले त्यतातिर ध्यान दिएर व्यवसाय गर्न आग्रह गरे ।

















