डडेल्धुरा – नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि अपिल गरेको छ । अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ ।

‘नैनसिंह महरको उम्मेदवारी कुनै व्यक्ति वा समूहको पक्षमा मात्र होइन, कांग्रेसको संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणको प्रस्ताव हो,’ निर्णयमा भनिएको छ ।















