बैतडी – नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको छ । कार्यसमितिको शनिबार बसेको बैठकले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको हो ।
‘नेपाली कांग्रेस पूर्णरूपमा एकढिक्का भएर नआएको खण्डमा कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय सर्वसम्मत पारित गरियो,’ बैठकले गरेको निर्णय पुस्तिकामा लेखिएको छ ।


पालिका सभापति रमेशबहादुर चन्दले कार्यसमिति बैठकबाट पार्टी एकढिक्का नभएसम्म कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय गरिएको बताए । उनले चार वडाका सभापतिहरू, स्थानीय तह निर्वाचन २०७९ र २०७४ मा पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका नेतासहितको बैठकले उक्त निर्णय गरेको पनि बताए ।
‘१ र २ नम्बर वडाको प्रतिनिधित्व थिएन । ३, ४, ५ र ६ का वडा सभापतिजीहरू हुनुहुन्थ्यो । दुई–चार जना अन्य क्रियाशील सदस्यहरू थिए,’ सभापति चन्दले भने, ‘०७९ र ०७४ का उम्मेदवार थिए । बैठकमा बोलाएको पति त्यत्ति हो । निर्णय सर्वसम्मत ग¥यौं ।’
कांग्रेसको १५ औं महाधिवेशनका लागि संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै कार्यतालिका ल्याएका छन् । संस्थापनले असोज ३ र ४ गते वडा अधिवेशन तोकेको छ । यस्तै, पूर्वसभापति शेरबहादुर देउवाको समूहले आगामी असोज १५ मा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।


















