धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै असोज १ गतेदेखि आफ्नो सेवा विस्तार गर्ने भएको छ । हाल शनिबार र आइतबार बन्द हुँदै आएको विस्तारित सेवा अब आइतबार तथा अन्य सार्वजनिक बिदाका दिनसमेत सञ्चालनमा आउने भएको हो ।

अस्पतालले जारी गरेको सूचना अनुसार असोज १ गतेदेखि आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि विस्तारित सेवा सञ्चालन हुनेछ । यस्तै, सोमबारदेखि शुक्रबारसम्म नियमित समयपछि बेलुकी ५ बजेदेखि पनि विस्तारित सेवा दिइनेछ। शनिबार भने सेवा बन्द रहने अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार पछिल्लो समय उपचारका लागि आउने बिरामीको संख्या अत्यधिक बढेपछि सेवा विस्तार गर्ने निर्णय गरिएको हो। बिरामीको चापका कारण उपचार नपाई फर्किनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा सञ्चालन गर्न लागिएको उनले बताए।


















