अत्तरिया– होटल व्यवसायी महासंघ नेपालका पर्यटन उपाध्यक्ष कलम बहादुर बमले होटल व्यवसायलाई राष्ट्रको आर्थिक समृद्धिको मेरुदण्ड रहेको बताएका छन् । शनिबार अत्तरियास्थित गोदावरी होटल व्यवसायी संघको नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बमले होटल व्यवसाय र पर्यटन व्यवसाय एकअर्काका परिपुरक रहेको बताए । उनले होटल व्यवसाय राम्रो भए पर्यटन फस्टाउने र पर्यटन फस्टाए होटल व्यवसायले निर्दिष्ट गति लिन सक्ने बताए ।


‘पर्यटन फस्टाउनका लागि होटल व्यवसाय पनि फस्टाउनुपर्ने हुन सक्छ’ उनले भने ‘एउटा पर्यटक भित्रिए त्यसले होटल व्यवसायलाई मात्रै प्रभावित गर्दैन, होटल व्यवसायले मात्रै त्यसको लाभ लिदैन, त्यसले धेरै कुरामा सकारात्मक प्रभाव पारेको हुन्छ ।’ स्थानिय उत्पादन, स्थानिय रोजगारीको अवस्था, राज्यलाई कर, राजश्व मात्रै नभई देशको अर्थतन्त्रलाई समेत चलायमान बनाउने भएकाले होटल व्यवसाय देशको आर्थिक समृद्धिको मुख्य आधारका रुपमा रहेको उनले बताए ।
सुदूरपश्चिममा पर्यटनको सम्भावना बोकेका प्रशस्त प्राकृतिक सम्पदाहरु रहेको बमले बताए । ति प्राकृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुलाई पु¥याउनका लागि होटल व्यवसायहरुलाई व्यवस्थीत, मर्यादित बनाउन राज्यको निति व्यवसायमैत्री तथा लगानीमैत्री हुनुपर्ने अवस्था देखिएको उनको भनाई छ । उनले जबसम्म स्तरिय होटल हुदैन तबसम्म स्तरिय पर्यटनको पनि अभाव हुने बताए ।
उनले पर्यटकलाई आर्कषित गर्नका लागि स्तरिय होटलहरुमा पनि लगानी लगाउन आवश्यक रहेको बताए । उनले सुदूरपश्चिममा ठुला ठुला होटलहरु आउन तयार रहेपनि जग्गाको अभावका कारण आउन नसकेको बताए । राज्यले जग्गालाई लामो समयसम्मका लागि लिजमा दिने व्यवस्था गरे, विद्युत महसुलमा छुट दिने व्यवस्था गरे, राज्यले व्यवसायीलाई हेर्ने दृष्ट्रिकोणहरु परिर्वतन गरे सुदूरपश्चिममा लगानी भित्रिने विश्वास लिएको उनको भनाई छ ।
संघका अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा भएको संघको साधारण सभाको उद्घाटन सत्रमा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । संघकी उपाध्यक्ष बिष्ना बोहराले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव रविन्द्र खड्काले गरेका थिए ।


















