खाेज्नुहाेस

२ करोडमा बनेको फिल्मले बक्स अफिसमा कमायो ५० करोड

Image

नयाँ दिल्ली । अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा सुरुवातदेखि नै दर्शकलाई चकित बनाइरहेको छ । प्रदर्शनको पहिलो साता निकै सुस्त देखिएको फिल्म दोस्रो सातासम्म आइपुग्दा बक्स अफिसको दौडबाट बाहिरिने अनुमान गरिएको थियो । तर तेस्रो र चौथो सातामा फिल्मको कमाइले अप्रत्याशित गति लिएपछि यसको व्यापार देखेर सबै छक्क परिरहेका छन् । फिल्मले पहिलो दिन भारतीय बक्स अफिसमा करिब १० लाख भारु मात्रै कमाएको थियो । पहिलो सातामा यसको कमाइ करिब १ करोड ८ लाख भारु मात्रै थियो । दोस्रो सातामा कमाइ घटेर करिब ४० लाख भारुमा खुम्चियो ।

तर तेस्रो सातादेखि फिल्मको व्यापारमा उल्लेख्य सुधार आयो । तेस्रो सातामा मात्रै फिल्मले १० करोड ४० लाख भारु कमाएको बताइएको छ । चौथो साताको आइतबार फिल्मले सबैभन्दा बढी १२ करोड ७५ लाख भारु कमाएको छ । सोमबार फिल्मले अर्को ५ करोड ५० लाख भारु कमायो । उपलब्ध विवरणअनुसार योसँगै फिल्मको कुल नेट कलेक्सन ४५ करोड ९२ लाख भारु पुगेको छ । भारतमा फिल्मको कुल ग्रस कलेक्सन भने ५३ करोड ४३ लाख भारु पुगेको जनाइएको छ ।

attariya hospital
navjiwan hospital

मिडिया रिपोर्टका अनुसार ‘हनुमान अंश’ करिब २ करोड रुपैयाँको बजेटमा निर्माण भएको हो । तुलनात्मक रूपमा निकै कम बजेटमा बनेको फिल्मले बजेटभन्दा कैयौं गुणा बढी कमाइ गरिसकेको छ । यही कारण फिल्मलाई ब्लकबस्टरका रूपमा हेरिएको छ । फिल्मले सुरुवातमा ठूलो स्तरको प्रचारप्रसार गरेको थिएन । परम्परागत प्रमोसनमा धेरै खर्च गर्नुको सट्टा निर्माताले विभिन्न स्थानमा भण्डारा आयोजना गर्दै बाबा नीम करौलीसँग सम्बन्धित सन्देश मानिसहरूमाझ पु-याउने प्रयास गरेका थिए । यसबाट फिल्मबारे विस्तारै चर्चा बढ्दै गयो । माउथ पब्लिसिटीले फिल्मलाई फाइदा पु-याएको देखिन्छ । सुरुवाती दिनमा सुस्त रहेको फिल्म त्यसपछि दर्शकको आकर्षणमा पर्न थालेको थियो ।

बाबा नीम करौलीको जीवनबाट प्रेरित कथा

विशाल चतुर्वेदीको निर्देशनमा बनेको ‘हनुमान अंश’ बाबा नीम करौलीको जीवनबाट प्रेरित फिल्म हो । फिल्ममा बाबाको भूमिकामा शोभिनाव सत्य देखिएका छन् । फिल्ममा विहान शेज, चन्दन के. आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी, गुलशन पाण्डे, भगवानदास पटेल र राजीव मिश्रा लगायतका कलाकारको अभिनय छ ।

‘हनुमान अंश’ प्रदर्शनमा आउँदा बक्स अफिसमा एकैपटक कयौं महँगा फिल्मबीच प्रतिस्पर्धा थियो । बलिउडको ‘बंटवारा १९४७’ र ‘आवारापन २’ सँगै हलिउडको ‘स्पाइडर म्यान ४’ पनि हलमा चलिरहेको थियो । त्यसपछि प्यान इन्डिया फिल्म ‘टक्सिक’ पनि रिलिज भयो । ठूला फिल्मसँगको प्रतिस्पर्धा हुँदा समेत ‘हनुमान अंश’ले हलसम्म दर्शक तान्न सकिरहेको छ ।