काठमाण्डाैँ – सरकारले देशभर एउटै ब्रान्डको एलपी ग्यास सिलिन्डर लागू गर्ने तयारी थालेको छ। बजारमा विभिन्न कम्पनीका सिलिन्डर प्रयोग भइरहँदा उपभोक्ताले ग्यास सकिएपछि अर्को ब्रान्डको सिलिन्डरसँग साट्न समस्या भोग्दै आएका छन्। यही समस्या समाधान गर्ने उद्देश्यले सरकारले एउटै ब्रान्डको सिलिन्डर प्रणाली लागू गर्ने तयारी अघि बढाएको हो।

नेपालमा ५८ वटा विभिन्न ब्रान्डका एलपी ग्यास सिलिन्डर बजारमा प्रयोग भइरहेका छन्। फरक–फरक कम्पनीका सिलिन्डर भएकै कारण उपभोक्ताले एउटा ब्रान्डको सिलिन्डर लिएर अर्को ब्रान्डको ग्यास पसलमा जाँदा साट्न नपाउने वा थप झन्झट व्यहोर्नुपर्ने अवस्था छ।

सरकारको प्रस्तावित योजनाअनुसार देशभर एउटै ब्रान्डको सिलिन्डर प्रयोगमा ल्याउन सके उपभोक्ताले जुनसुकै स्थानबाट पनि सहज रूपमा ग्यास सिलिन्डर साट्न सक्नेछन्। यसले ग्यास वितरण प्रणालीलाई थप व्यवस्थित र उपभोक्तामैत्री बनाउने अपेक्षा गरिएको छ।




















