अत्तरिया – प्रा. डा. गोविन्द केसीलाई काठमाडौंमा उपलब्ध हुने स्वास्थ्य सेवा गेटामै दिन सकिने सन्देश दिइएको छ । इलाममा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेका बेला गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपचारका लागि आउन आग्रह गर्दै सो सन्देश दिएको हो ।
त्यसका लागि विश्वविद्यालयले आफ्नो शिक्षण अस्पतालमा आईसीयू बेड तयारी अवस्थामा राखेको जनाएको छ । आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारसहित गम्भीर बिरामीको उपचार गर्न आफू सक्षम रहेको विश्वविद्यालयको दाबी छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार डा. केसीलाई गेटा ल्याउन विश्वविद्यालयको टोली रातभर जाग्राम बसेर मन्त्रालयको टोलीसँग निरन्तर सम्पर्क र समन्वयमा रहेको थियो ।

उनको उपचारका लागि आईसीयूमा छुट्टै शय्या तयारी अवस्थामा राखिनुका साथै चिकित्सक तथा नर्सिङ टोलीलाई समेत तयारी अवस्थामा राखिएको उनले बताए । तर, डा. केसीले काठमाडौं जान चाहना व्यक्त गरेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
विश्वविद्यालयले आईसीयूको शय्या तयारी राख्नुका साथै आफ्नो उपचार सेवा र पूर्वाधारबारे सार्वजनिक गरेको विवरणलाई गेटा स्वास्थ्य सेवाका लागि सक्षम रहेको सन्देश दिने प्रयासका रूपमा हेरिएको छ ।
उपकुलपति जोशीले गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत स्वास्थ्य सेवाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विश्वविद्यालयको आफ्नै ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक संरचना र जनशक्ति परिचालन भइसकेको बताएका छन् ।

उनका अनुसार चिकित्सा शिक्षा आयोगले अनुमति दिएका एमबीबीएस, बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री गरी चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी गरिएको छ । आधारभूत स्वास्थ्य विज्ञान विभाग, प्रयोगशाला, सामग्री तथा आयोगले तोकेका उपकरण र पूर्वाधार तयारी अवस्थामा रहेको उनको भनाइ छ ।
शिक्षण अस्पतालमा विद्यार्थीको क्लिनिकल अभ्यास सुरु हुने समयसम्म अस्पतालको क्षमता पाँचदेखि छ सय शय्यामा विस्तार गर्ने योजना रहेको पनि उनले बताएका छन् । विश्वविद्यालय ऐनअनुसार संघ, प्रदेश र स्थानीय तहका अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न सकिने व्यवस्था रहेकाले अन्य अस्पतालसँग गरिएको सहकार्यलाई आफ्नै शिक्षण अस्पताल विकास नगर्ने अर्थमा बुझ्न नहुने उनले स्पष्ट पारेका छन् ।
चिकित्सा शिक्षा आयोगका अधिकारीसहितको टोलीले पूर्वाधार र तयारीको मूल्याङ्कन गरेपछि मात्रै शैक्षिक सिट निर्धारण भएको उनको भनाइ छ । गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगर्ने र डा. केसीले उठाएका प्रश्नका कारण निराश हुनुपर्ने अवस्था आउन नदिने उनले बताएका छन् ।
यद्यपि, गेटा विश्वविद्यालय सञ्चालनको तयारी अघि बढिरहेका बेला डा. केसीको अनशनले शैक्षिक कार्यक्रम र विद्यार्थी भर्ना प्रक्रिया अन्योलमा पर्ने हो कि भन्ने चिन्ता पनि बढेको छ । लामो समयको प्रतीक्षापछि सञ्चालनको चरणमा पुगेको विश्वविद्यालयप्रति सुदूरपश्चिमवासीको ठूलो अपेक्षा छ । चिकित्सा शिक्षाको गुणस्तर र आवश्यक मापदण्ड सुनिश्चित गर्दै विश्वविद्यालयको सञ्चालन प्रक्रिया नरोकिई अघि बढ्ने वातावरण बनाउनुपर्ने आवाजसमेत उठ्न थालेको छ ।
हाल शिक्षण अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, बालरोग, मानसिक रोग, छालारोग, नाक–कान–घाँटी, न्युरोलोजी र दन्तरोग, आकस्मिक उपचार, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), बाल सघन उपचार कक्ष (पीआईसीयू), उच्च निर्भरता उपचार कक्ष (एचडीयू), शल्यक्रिया तथा शल्यक्रियापछिको उपचार सेवा सञ्चालनमा रहेको छ ।
त्यस्तै, प्याथोलोजी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, ईसीजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी र फार्मेसीलगायत तीन दर्जनभन्दा बढी सेवा सञ्चालनमा रहेको विश्वविद्यालयले जनाएको छ ।
अस्पतालमा चाडै क्याथ ल्याब स्थापना गरी मुटुरोगको विशिष्टीकृत उपचार सेवा, बर्न युनिट, ट्रमा सेन्टर, सिटी स्क्यान र एमआरआई सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ ।


















