काठमाडौँ । रेफ्रिजरेटरलाई लामो समयसम्म ताजा राख्ने सजिलो तरिका मानिन्छ । तर रेफ्रिजरेटरको चिसो तापक्रम हरेक खानेकुराका लागि सही हुँदैन । कम तापक्रम र आद्र्रताका कारण केही वस्तुहरूको स्वाद, बनावट वा ताजापन गुम्न सक्छ ।
बिनासोच विचार नगरी सबै खानेकुरालाई फ्रिजमा राख्ने बानी परिवर्तन गर्नु जरुरी छ । तपाईंले भूलवश फ्रिजमा राख्ने त्यस्ता केही खानेकुराबारे हामी यहाँ चर्चा गर्नेछौँ ।

आलु : आलुलाई चिसो र अँध्यारो ठाउँमा भण्डारण गर्नु राम्रो हुन्छ । रेफ्रिजरेटरले आलुमा भएका स्टार्चको मात्रा परिवर्तन गर्न सक्छ, जसले गर्दा स्वादमा कमी आउँछ । यसबाहेक, आलु र प्याजलाई सँगै राख्नु पनि हुँदैन । दुवैबाट निस्कने ग्यासहरूले एकअर्कालाई छिटो बिगार्न सक्छन् ।

बोक्रा नझिकेको प्याज : सिंगै प्याजलाई पनि फ्रिजमा राख्नु पर्दैन । फ्रिजको आद्र्रताले प्याज नरम हुन्छ अनि यसमा ढुसी लाग्ने जोखिम बढ्न सक्छ । यसलाई सुक्खा, हावा चल्ने अनि अँध्यारो ठाउँमा राख्नुपर्छ । प्याज काटेको हो भने चाहिँ हावा नछिर्ने बट्टामा हालेर फ्रिजमा राख्नु सुरक्षित हुन्छ ।
सिंगै लसुन : फ्रिजमा राख्न नहुने अर्को खानेकुरा सिङ्गै लसुन पनि हो । यसलाई बरु सुक्खा र हावा चल्ने ठाउँमा भण्डारण गर्नु राम्रो हुन्छ । फ्रिजमा भएको आद्र्रताले लसुनको अंकुरित हुने वा बिग्रने प्रक्रियालाई असर गर्न सक्छ । त्यसैले, आवश्यकता अनुसार लसुनको पोटी निकालेर प्रयोग गर्नु राम्रो हुन्छ । आवश्यकता भन्दा धेरै लसुन छोडाएर फ्रिजमा राख्दा यसले तपाईंको स्वास्थ्यलाई हानि पु¥याउन सक्छ ।
गोलभेंडा : गोलभेँडालाई फ्रिजमा राख्नाले यसको बनावट र स्वाद बिग्रिन सक्छ । फ्रिजको न्यून तापमानले यसको प्राकृतिक स्वाद घटाउन सक्छ र यसलाई चाँडै नरम पनि बनाउन सक्छ । त्यसकारण, पाकेको गोलभेडालाई कोठाको तापक्रममा भण्डारण गर्नुहोस् अनि आवश्यक परेको बेलामा प्रयोग गर्नुहोस् ।
केरा : रेफ्रिजरेटरमा राख्दा केराको बोक्रा छिटो कालो हुन सक्छ । भित्री फल केही समयको लागि ठीक रहन सक्छ, तर यसको रंग र बनावट परिवर्तन हुन्छ । केरालाई कोठाको तापक्रममा भण्डारण गर्नु राम्रो हुन्छ । धेरै पाकेको केरालाई छोटो समयको लागि फ्रिजमा भण्डारण गर्न सकिन्छ ।
पाउरोटी : रेफ्रिजरेटरमा राख्नाले ताजै पाउरोटी पनि सुकेर अकरक्क भएर बासी जस्तो र साह्रो हुन सक्छ । केही दिनभित्रै खाएर सकिन्छ भने पाउरोटीलाई हावा नछिर्ने बट्टामा राख्नुहोस् । अलिक लामो समयसम्म टिकाउने हो भने फ्रिजिङ राम्रो विकल्प हुन सक्छ ।


















