काठमाडौं – स्पीनर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको ओडीआई कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तान नियुक्त गरेको हो ।

सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् ।

सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन्।
आइसीसी विश्वकप लिग–२ मा नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो । याेसँगै राेहितले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन् । क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० को कप्तान नियुक्त गरेको थियो ।

















