कञ्चनपुरमा – कञ्चनपुरमा श्रीमानको कुटपिट पछि उपचार नगरी घरमा लगिएकी महिलाको मृत्यु भएको छ । दोधरा चाँदनी नगरपालिका – १० की ४५ वर्षीय पारु सुनारको बुधवार राती मृत्यु भएको हो ।

जेठ ३० गते पारुलाई उनका श्रीमान् ५० वर्षीय रन बहादुर सुनारले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी उनलाई असार ३१ गते दोधरा चाँदनी अस्पताल लगिएकोमा अस्पतालले सामान्य उपचार पछि सुविधा सम्पन्न अस्पताल लग्न भने पनि अस्पताल नलगी घर ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक टेक बहादुर रावतले बताए ।

उनको अस्पताल नलगी घरमा राखिएको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु भएको खबर प्रहरीलाई बिहीबार (असार ३२ गते) मात्रै गराइएको प्रहरी नायव निरीक्षक रावतले बताए ।
प्रहरीले कुटपिटमा संलग्न रन बहादुर सुनारलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
















