खाेज्नुहाेस

कञ्चनपुरमा सशस्त्र प्रहरी र सीमावासी नागरिकहरूबीच अन्तरक्रिया

Image

कञ्चनपुर – सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीले कञ्चनपुरको पुनर्वास नगरपालिकामा सीमावासी नागरिकहरूबीच वृहत् अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको छ । सीमा सुरक्षालाई जनमुखी बनाउने, सीमा क्षेत्रका यथार्थ चुनौती बुझ्ने र नागरिक–सुरक्षाकर्मी सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, सञ्चारकर्मी र सीमावासी नागरिकहरूको सहभागिता रहेको थियो ।

खुला छलफलका क्रममा सीमावासी नागरिक तथा जनप्रतिनिधिहरूले सीमा क्षेत्रका समसामयिक चुनौती र जनजीविकाका सवालहरू प्रष्ट रूपमा उठाएका छन् । छलफलका क्रममा स्थानीयहरूले सीमा क्षेत्रमा बढ्दो लागूऔषध ओसारपसार र दुव्र्यसनी नियन्त्रणका लागि सशस्त्र प्रहरीले थप कडा कदम चाल्नुपर्ने तथा दैनिक जीवनयापनका लागि आवश्यक घरायसी सामान र कृषि मल ढुवानीमा आवश्यक जाँचबुझ गरी सीमामा व्यावहारिक सहजीकरण गरिदिनुपर्ने माग राखेका थिए ।

attariya hospital
navjiwan hospital

त्यसैगरी, भारतबाट अवैध रूपमा भित्रिने अखाद्य वस्तुहरू र प्रतिबन्धित पेय पदार्थले आम मानिसको जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा कुनै पनि हालतमा त्यस्ता वस्तुहरू नेपाल भित्रिन नदिन सीमा डिउटी र पोष्टहरूमा चेकजाँचलाई अत्यन्तै कडा बनाइनुपर्नेमा जोड दिएका थिए । साथै, विगतका प्राकृतिक विपद्हरूमा सशस्त्र प्रहरीले ज्यान जोखिममा राखेर गरेको उद्धार कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै स्थानीयहरूले आगामी वर्षायाममा हुनसक्ने सम्भावित बाढी र डुबानको जोखिमबाट आम जनतालाई जोगाउन सुरक्षा निकायलाई उच्च पूर्वतयारीमा रहन समेत अपिल गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख श्री तोया प्रसाद शर्मा ज्यूले सीमा क्षेत्रको समग्र विकास र नागरिकको हितका लागि स्थानीय सरकार सशस्त्र प्रहरीसँग पूर्ण सहकार्य गर्न तयार रहेको बताए । विशिष्ट अतिथि एवं नम्बर ७ वैद्यनाथ वाहिनीका वाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीले सीमामा बस्ने नागरिकहरू नै देशका वास्तविक र ‘जीवित पिलर’ भएको उल्लेख गरे ।

उनले स्थानीय नागरिकले उठाएका लागूऔषध नियन्त्रण, अवैध सामानको तस्करीमा कडाइ र विपद् पूर्वतयारीका सवालहरूलाई तत्काल सम्बोधन गर्न मातहतका युनिटहरूलाई निर्देशन दिए । साथै नागरिकप्रति सधैँ शिष्ट र व्यावसायिक व्यवहार प्रदर्शन गर्न र गैरकानूनी क्रियाकलापमा शून्य सहनशीलता अपनाउन कमाण्डरहरूलाई निर्देशित गरे । सोही अवसरमा पुनर्वास नगरपालिकाद्वारा रबर बोट, लाइफ ज्याकेट लगायतका विपद् उद्धारका सामाग्रीहरु सशस्त्र प्रहरीबल नेपाललाई हस्तान्तरण समेत गरिएको थियो ।

नम्बर ३५ गण शैलेश्वरीका गणपति, सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल ज्यूको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन तथा सहजकीकरण सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले गरेका थिए ।