कञ्चनपुर – कञ्चनपुरमा हुलाकी सडक निर्माणको काम सुरु भएको एक दशक पुग्यो । तर अहिले पनि निर्माण कार्य पूरा हुन सकेको छैन । काम झनै अलपत्र परेको छ । कञ्चनपुरमा हुलाकी सडक निर्माणका लागि तीन वटा प्याकेजमा ठेक्का भएको थियो । जसमध्ये डोकेबजारदेखि बेलौरीसम्म र बेलडाँडीदेखि दैजीसम्मको सडक खण्डको काम सम्पन्न भइसकेको छ । तर बेलौरीदेखि बेलडाँडीसम्मको २० किलोमिटर सडकको काम अझै अलपत्र अवस्थामा छ ।
उक्त सडक खण्ड निर्माणका लागि २०७३ फागुन १३ मा ४१ करोड ४१ लाख ४९ हजारमा ठेक्का सम्झौता भएको थियो । २०७५ भदौ २६ सम्म काम गर्ने अवधि भए पनि ७ पटक म्याद थपेर २०८२ कात्तिक २५ सम्म पु¥याइएको थियो । ९ वर्षसम्म पनि सडक निर्माणको काम पूरा नभएपछि गत मंसिर २४ मा ठेक्का तोडेर निर्माण कम्पनी बाबाहंश सिद्धिशाहीलाई कालोसूचीमा समेत राखियो ।


ठेक्का तोडिएको झण्डै एक वर्षसम्म पनि सडक निर्माणको प्रक्रिया अझै सुरु भएको छ । उक्त सडक खण्डमा खाल्डाखुल्डीका कारण जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई आउजाउमा निकै समस्या भइरहेको छ । स्थानीयले सडक निर्माणका लागि दबाव दिन पटक पटक सांकेतिक रुपमा विरोध पनि जनाउँदै आएका छन् ।
बेलौरी नगरपालिकाको बुटाबारीदेखि बेलडाँडीसम्मको दोस्रो प्याकेजको उक्त ठेक्का अन्तरगत ७७ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर चौधरीले बताए । पटक पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि अन्तिम अवस्थामा ठेक्का तोडेको उनले बताए । ठेक्का तोडेपछि निर्माण कम्पनीलाई दुई वर्षसम्म कालोसूचीमा राख्नुका साथै बाँकी रहेको कामका लागि ३० करोड असुल गर्न समेत पत्राचार भएको बताए ।
उक्त सडक खण्डको बेलौरी नगरपालिका–८ मा पर्ने पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले सीमा विवाद सृजना गरेका कारण पनि काम गर्न केही समस्या देखिएको छ ।
उक्त क्षेत्रमा एसएसबीले सडक निर्माण भइरहेको क्षेत्र दशगजामा पर्ने भन्दै पटक पटक अवरोध सृजना गरेको छ । तर सडक नेपाल–भारत सीमा स्तम्भ भन्दा टाढा छ । पछिल्लो पटक स्ट्रीप नक्साका कारण सडक दशगजामा पर्ने भन्दै एसएसबीले अवरोध गर्दै आएको छ । उक्त क्षेत्र छाडेर नयाँ ठेक्का प्रक्रिया अघि बढाइने इन्जिनियर चौधरी बताउँछन् ।


















