काठमाडौं । च्याटजीपीटी निर्माता ओपनएआईले गत वर्ष सार्वजनिक गरेको आफ्नो एआई–पावर्ड ब्राउजर ‘एटलस’ बन्द गर्ने भएको छ । कम्पनीले हालै एक ब्लगमार्फत एटलस बन्द गर्ने घोषणा गरेको हो । यससँगै कम्पनीले यस ब्राउजरका महत्वपूर्ण फिचरलाई सिधै च्याटजीपीटी र गुगल क्रोममा राख्ने तयारी गरेको छ । ओपनएआईले क्रोमका लागि नयाँ च्याटजीपीटी एक्स्टेन्सन जारी गर्ने र थप परिष्कृत ब्राउजिङ क्षमतासहित च्याटजीपीटी डेस्कटप एपलाई अपडेट गर्ने घोषणा गरेको छ ।
यी अपडेटको उद्देश्य च्याटजीपीटीलाई एउटा ‘वर्कस्पेस’ को रूपमा विकास गर्नु भएको कम्पनीको भनाइ छ । ओपनएआईका अनुसार यी सबैको उद्देश्य वेबसाइट ब्राउज गर्न, वेब पेजका बारेमा सोधिएका प्रश्नको जवाफ दिन र प्रयोगकर्ताको तर्फबाट विभिन्न काम पूरा गर्न सक्ने सजिलो बनाउनु हो । एआईको प्रयोग गरी वेब ब्राउजरलाई नयाँ रूप दिने प्रविधि कम्पनीहरूको प्रतिस्पर्धाबिच गत अक्टोबरमा ‘एटलस’ सार्वजनिक गरिएको थियो । पछिल्लो एक वर्षमा गुगल क्रोमको बर्चस्वलाई चुनौती दिन विभिन्न कम्पनीले प्रयास गरिरहेका छन् ।


यसै क्रममा पप्र्लेक्सिटीले आफ्नो एआई ब्राउजर ‘कमेट’ र द ब्राउजर कम्पनीले ‘डिया’ सार्वजनिक गरेका थिए भने गुगल र माइक्रोसफ्टले पनि क्रोम र एज ब्राउजरमा एआई फिचर समावेश गरेका थिए । तर, प्रयोगकर्ताले छुट्टै एआई ब्राउजर प्रयोग गर्न नचाहेको निष्कर्षमा ओपनएआई पुगेको देखिन्छ । यसको सट्टा मानिसले ब्राउजिङका लागि जुन प्लेटफर्म प्रयोग गर्दै आएका थिए त्यसमा आफ्ना पृथक भनिएका फिचर थप्ने निर्णय लिएको छ ।
नयाँ क्रोम एक्स्टेन्सन र अपग्रेड गरिएको डेस्कटप एप
नयाँ च्याटजीपीटी क्रोम एक्स्टेन्सनले एआई असिस्टेन्टलाई वेब पेजको सन्दर्भ बुझ्न मद्दत गर्नेछ । यसको सहयोगले प्रयोगकर्ताले ट्याब परिवर्तन नगरी वा क्रोम ब्राउजर नछोडीकनै कुनै पनि वेब पेजका बारेमा प्रश्न सोध्न, सारांश तयार गर्न वा जटिल काम सुरु गर्न सक्नेछन् । यस फिचरले गुगलको ‘जेमनाई साइड प्यानल’ सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । जेनलाई साइड प्यानल यस्तो फिचर हो जसले क्रोमभित्रै यस्तै सुविधा प्रदान गर्दै आएको छ । तपाईंले क्रोमको माथिपट्टि हेर्नुभयो भने ‘आस्क जेमनाई’ भन्ने अप्सन देख्न सक्नुहुन्छ ।
यसका साथै ओपनएआईले च्याटजीपीटी डेस्कटप एप्लिकेसनलाई पनि अपग्रेड गर्ने रणनीति अपनाएको छ । अब प्रयोगकर्ताले च्याटजीपीटी नछोडीकनै वेबसाइट ब्राउज गर्न, अकाउन्टमा लगइन गर्न, फाइल डाउनलोड गर्न र वेब पेजसँग अन्तरक्रिया गर्न सक्नेछन् । कम्पनीले ओपनएआईको सर्भरमा चल्ने ‘रिमोट क्लाउड ब्राउजर’ पनि ल्याउँदैछ । यस ब्राउजरले च्याटजीपीटीका एआई एजेन्टलाई प्रयोगकर्ताको तर्फबाट काम गर्न उपयुक्त वातावरण मिलाउनेछ ।



















