खाेज्नुहाेस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक बढे

Image

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटनको संख्या बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख गन्तव्य स्थल मध्येको एक शुक्लाफाँटामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो ।

गत आर्थिक वर्षमा ३ हजार ७२२ पर्यटकले शुक्लाफाँटामा भ्रमण गरेका थिए । तर यस चालु आर्थिक वर्षमा सो संख्या ४३९ ले बढेर ४ हजार १९१ पुगेको निकुञ्ज कार्यालयले जनाएको छ ।
चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेका अनुसार चालु आवको असोजदेखि असारसम्म निकुञ्ज भ्रमण गर्नेमा १ हजार ६५७ महिला र २ हजार ५३४ पुरुष छन् ।

attariya hospital

निकुञ्जमा आन्तरिक पर्यटकको वर्चस्व कायमै छ । कुल पर्यटकमध्ये निकुञ्ज भ्रमण गर्ने ३ हजार ६९९ नेपाली पर्यटक छन् । जसमा १ हजार ५१३ महिला र २ हजार १८६ पुरुष छन् । कुल पर्यटकमध्ये करिब ८८ प्रतिशत हिस्सा नेपाली पर्यटकको रहेको तथ्याङ्कले शुक्लाफाँटा आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको पुष्टि गर्दछ ।

navjiwan hospital

त्यसैगरी, सार्क राष्ट्रबाट ३५८ पर्यटक निकुञ्ज पुगेका छन् । यसमध्ये ८७ महिला र २७१ पुरुष छन् । तेस्रो मुलुकबाट भने १५६ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । जसमा ५७ महिला र ९९ पुरुष छन् । विदेशी पर्यटकको संख्या अझै अपेक्षाकृत कम भए पनि पछिल्ला वर्षमा विस्तारै वृद्धि हुँदै गएको छ । गत आवभन्दा चालु आवमा विदेशी पर्यटको संख्या २२ ले बढेको छ ।

महिनागत तथ्याङ्क हेर्दा चैतमा सबैभन्दा बढी ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । त्यसपछि कात्तिकमा ५८०, जेठमा ५७९, वैशाखमा ५५४ र असारमा ४२४ जना पुगेका छन् । मौसम अनुकूल हुने तथा वन्यजन्तु अवलोकन सहज हुने भएकाले चैत, वैशाख र जेठमा पर्यटकको चाप बढी हुने गरेको छ ।

सबैभन्दा कम पर्यटक असोजमा मात्र नौ जना पुगेका थिए । त्यसपछि मङ्सिरमा २९३, माघमा ३६९, पुसमा ३७६ र फागुनमा ३८६ जनाले निकुञ्ज भ्रमण गरेका छन् । वर्षायाम तथा पर्यटकीय सिजन सुरु नहुँदा असोजमा पर्यटकको सङ्ख्या न्यून हुने गरेको देखिन्छ ।

गत आव २०८१–८२ मा निकुञ्जमा ३ हजार ७२२ पर्यटक आएका थिए । तीमध्ये तीन हजार ३७१ नेपाली, १९९ सार्क राष्ट्रका तथा १५२ जना तेस्रो मुलुकका पर्यटक थिए । चालु आवमा नेपाली तथा सार्क मुलुकका पर्यटकको संख्या उल्लेख्य रूपमा बढे पनि तेस्रो मुलुकका पर्यटकको आगमन अपेक्षाकृत स्थिर देखिएको छ ।