कञ्चनपुर – कञ्चनपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हेरोइन र नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका–१८ भगतपुरबाट बुधबार राति २ ग्राम ४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय कमल दमाई र २२ वर्षीय शाहिल दमाई रहेका छन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले कमल दमाईको घरको कोठाभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरूलाई फेला पारी उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।


त्यसैगरी, भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–१ पिपलथला घर भई हाल भीमदत्त–४ मा डेरा गरी बस्ने २२ वर्षीय गोविन्दबहादुर साउँद रहेका छन्।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा डाइजापामका २ एम्पुल, ब्रोफिन नाफडा ८ एम्पुल, फेनारगन ८ एम्पुल तथा ३ थान सिरिन्ज बरामद गरी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















