कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ ब्रह्मदेव चोकस्थित जिरो प्वाइन्ट नजिक रहेको एक चिया–नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

बुधबार साँझ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले जुवातास खेल भइरहेको भन्ने सूचनाका आधारमा शुक्लाफाँटा नगरपालिका–५ निवासी २९ वर्षीय सुरेन्द्रप्रसाद जोशीले सञ्चालन गरेको चिया–नास्ता पसलमा छापा मार्दा सञ्चालक जोशीसहित ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट नगद २२ हजार ५९० रुपैयाँ र एक गड्डी तास समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

















