बेलौरी – कञ्चनपुरको बेलौरीमा विपन्न परिवारका लागि ७९ वटा सुरक्षित आवास निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, बेलौरी नगरपालिका, निड्स नेपाल र ह्याबिटाट फर हुम्यानिटीको लागत साझेदारीमा विपन्न मुक्त कमैया परिवारहरूका लागि सुरक्षित आवास निर्माण गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा बेलौरी नगरपालिका – ९ को रामघाटमा १७ र वडा नम्बर ५ को सोभातालमा १८ गरी कुल ३५ जना विपन्न मुक्त कमैया परिवारहरूका लागी सुरक्षित आवास निर्माण गरिएको हो । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा २९ र आर्थिक वर्ष २०८०/०८१ मा १५ जना गरी ७९ आवास निर्माण गरिएका छन् ।


निर्माण गरिएको घरमा दुई कोठा, भान्सा, शौचालय र बाथरुम बनाइएको छ । चालु आर्थिक वर्षमा घर निर्माणको काम अन्तिम चरणमा पुगेको र केही दिनमा औपचारिक कार्यक्रम गरेर हस्तान्तर गरिने नगरपालिकाले जनाएको छ ।
निडस नेपालका सह–कार्यकारी निर्देशक प्रकाश चन्द्र मडैका अनुसार सुरक्षित आवास कार्यक्रम अन्तरगत बेलौरी नगरपालिका भित्र पछिल्लो ३ वर्षमा ७९ वटा घरहरू निर्माण गरिसकिएको बताए । सबै घरहरू उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । हालसम्म बेलौरीका १,२,३,४ नम्बर वडा बाहेक अन्य वडा घर निर्माण गरिएको सह कार्यकारी निर्देशक मडैले बताए ।
अघिल्ला वर्षहरूमा संस्था र पालिकाको साझेदारी घर निर्माण गरिएको थियो भने यस वर्षदेखि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको साझेदारी थपिएको उनले बताए । यस वर्ष यही कार्यक्रम अन्तर्गत नै शुक्लाफाँटा नगरपालिकामा समेत १५ घर निर्माण गरिएको छ ।
घर निर्माणका लागि मन्त्रालयको ३ लाख ५० हजार, निडस नेपाल, ह्याबीट्याटसको १ लाख २० हजार सँगै प्राविधिक सहयोग, नगरपालिकाको १ लाख ५० र सम्बन्धित लक्षित वर्षको १ लाख ७४ हजारको श्रमदान गरी झन्डै ७ लाख ९४ हजार लागतमा एक घर निर्माण भएको छ ।


















