बेलौरी – कञ्चनपुरको बेलौरीमा खोलामा नुहाउदा बगेर वेपत्ता भएकी किशोरीको शव फेला परेको छ । हिजो विहिवार साझ रोपाइँ सकेर दिदी बहिनीको समुहमा नुहाउन झरनाखोलामा आएकी बेलौरी नगरपालिका -९ कि अन्दाजी १५ वर्षीया गरिमा तिरुवा बगेर वेपत्ता भएकी थिइन ।
बगेर वेपत्ता भएकी गरिमाको शव शुक्रवार बिहान १० बजे नुहाउन गएको ठाउँ भन्दा करिब ५ सय मिटर टाढा बेलौरी नगरपालिका ९ रतनपुर स्थित नाला छेउमा भेटिएको प्रहरीले जनाएको छ ।


शव भेटिएपछि अहिले घटनस्थलको मुचुल्का तयार गरि पोस्टमार्टमको लागि लगिने तयारी गरिदै छ ।

विहिवार स्थानीय प्रेम महरको रोपाइ सकेर नुहान भनी गरिमा आफ्नै दिदिबहिनीको ६ /७ जनाको समुहमा खोलामा गएकी थिइन । स्थानीयका अनुसार गरिमा सङ्गैका अन्य २ जनाले पनि पौडी खेल्न बीचमा गएका थिए । पानीको वहाव अत्यधिक हुदा गरिमालाई पौडि खेल्न नआउदा खोलाले बगायो । उनी सङ्गै पौडी खेल्न गएका भने सकुशल छन । गरिमा बग्दा समुहमा नुहाउन गएका प्रियंका ,स्मृति सहिताकाले बचाउन प्रयास गरेपनी बचाउन सकेनन ।
त्यसपछि उनिहरुले आमाबुबा ,अन्य स्थानीय र प्रहरीलाई खबर गरेका थिए । अनि नेपाल प्रहरी ,सशस्त्र प्रहरी सहित स्थानीयहरुको टोलीले हिजो राती ९ बजेसम्म खोजी गरेका थिए । हिजो राती रोकिएको खोजी कार्य आज बिहानै देखि सुरु गरिएको थियो । बिहान ९ बजेसम्म करिब ३ किलोमीटर टाढा बेलडाडी गाउँपालीका ३ कमरी पुल सम्म खोजी गरिएको थियो ।
त्यहाँ पनि शव नभेटीएपछी पुन :घटनास्थल बाटै खोजी गर्दा नजिकै ५ सय मिटर नजिक केहिदिन अघि मात्रै खनिएको ड्रेन(नाला )को छेउमा उनको शव भेटिएको जनाइएको छ ।
वेपत्ता गरिमाको खोजीका लागी ईलाका प्रहरी कार्यालय बेलडाडी ,सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडा र पचुईबाट विपद तालिम प्राप्त १०/१० जना गरि ३० जना सङ्गै स्थानीयहरुले खोजी गरेका थिए ।


















