धनगढी– सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकबीच समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकहरूलाई शीघ्र टुङ्ग्याएर प्रदेशसभामा पेश गर्ने विषयमा छलफल भएको छ ।
लामो समयदेखि सामाजिक विकास समितिमा विचाराधीन रहेका विधेयकहरूमा दफावार छलफल सम्पन्न गरी तत्काल प्रदेशसभामा पेश गर्ने र ऐनका रूपमा जारी गर्ने प्रक्रियालाई तीव्रता दिनुपर्ने विषयमा दुवैबीच छलफल तथा सहमति भएको हो ।


निवर्तमान मुख्यमन्त्री शाह नेतृत्वको सरकारले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २०८१ चैत ३ गते र ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २०८२ जेठ २१ गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।
यी दुवै विधेयक लामो समयसम्म सदनको प्रक्रियामा अगाडि नबढेपछि २०८३ वैशाख १७ गते नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले अविलम्ब सदनमा पेश गरी छलफल प्रक्रिया अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएको थियो । प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा जेठ ११ गते दुवै विधेयक टेबल गरिएको थियो । जेठ २० गते प्रदेशसभामा सामान्य छलफल भएपछि जेठ २६ गते दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको थियो ।
समितिमा पठाइएपछि छलफलको क्रममा रहेका यी दुई विधेयकसहित अन्य विचाराधीन विधेयकहरूलाई समेत छिटो टुङ्ग्याएर प्रदेशसभामा पठाउनुपर्नेमा शाह र सभापति पाठकबीच छलफल भएको हो । लामो समयसम्म विधेयकहरू समितिमा अल्झिँदा प्रदेशसभाको विधायिकी कार्यसम्पादन र संसदीय प्रक्रियामाथि नै प्रश्न उठ्ने भएकाले जनसरोकार र प्रदेशको दीर्घकालीन विकाससँग जोडिएका विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।


















