बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले असोज महिनाको ‘मासिक उत्कृष्ट कर्मचारी’ कविन्द्र प्रसाद पन्तलाई छनौट गरेको छ । गएको वैशाखदेखि ‘मासिक उत्कृष्ट कर्मचारी’ छनौट गर्दै आएको प्रशासन कार्यालयले पन्तलाई असोज महिनाको उत्कृष्ट कर्मचारी छनौट गरेको हो ।

पन्त जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यालय सहयोगीका रुपमा कार्यरत रहेका छन् । उत्कृष्ट कर्मचारी घोषणा भएका पन्तलाई कार्यालयकातर्फबाट खादा लगाएर सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखिएको फोटो कार्यालयमा राखिएको छ । कर्मचारीहरुको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ छनौट गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।

कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाहरुलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनका लागि यसले थप सहयोग मिल्ने विश्वास लिइएको छ । उत्कृष्ट सेवा प्रवाह, सुशासन र कर्मचारीहरुको उत्प्रेरणाका लागि कार्यालय प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

















