खाेज्नुहाेस

चाडपर्वको भीडभाड व्यवस्थापन गर्न अत्तरिया उद्योग वाणिज्य संघको आग्रह

Image

अत्तरिया– चाडपर्वको समयमा बजार क्षेत्रमा बढ्दै गएको भीडभाडलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिन अत्तरिया उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघले शुक्रबार सुदूरपश्चिम प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियालाई पत्राचार गर्दै बजार क्षेत्रमा देखिएको अव्यवस्थित सवारी आवागमन र ट्राफिक समस्याको व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

navjiwan hospital

संघका अध्यक्ष कमल कडायतद्वारा हस्ताक्षरित पत्रमा नेपालीहरूको महान् चाडपर्वका कारण बजारमा अत्यधिक भीडभाड बढिरहेको उल्लेख गरिएको छ । भीडभाडका कारण सवारीसाधन जथाभावी पार्किङ हुने, मुख्य चोकहरूमा सवारीको चाप बढ्ने तथा पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भइरहेको पत्रमा जनाइएको छ । त्यस्तै, यात्रु ओराल्ने र बसाल्ने कार्य मुख्य सडकमै हुने गरेको तथा यात्रुलाई जबरजस्ती तानातान गर्ने गरिएकाले ट्राफिक व्यवस्थापन अव्यवस्थित तथा असुरक्षित भएको महसुस भएको संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

attariya hospital

सम्भावित दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा बजारको सुन्दरता अभिवृद्धि गर्न ट्राफिक नियमको पूर्ण पालना गराउन आवश्यक रहेको संघले जनाएको छ । संघले ट्राफिक व्यवस्थापनका लागि गरिने कार्यमा आफ्नो संस्थाको पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ । साथै, संघले नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामनासमेत व्यक्त गरेको छ ।

उक्त ज्ञापन पत्र संघका अध्यक्ष कमल कडायत सहितका पदाधकारीहरुले सुदूरपश्चिम प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीलाई हस्तान्तरण गरेका थिए ।