अत्तरिया – कैलालीको गौरिगंगा नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने नदी तथा तटीय क्षेत्रबाट नदीजन्य पदार्थको अवैध उत्खनन, संकलन तथा चोरी–निकासी भइरहेको भन्दै त्यसलाई रोक्न चेतावनी दिएको छ ।
नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छिमेकी चुरे गाउँपालिकाले नदीजन्य पदार्थ संकलनका लागि ठेक्का सम्झौता गरी काम गरिरहेको सन्दर्भमा गौरिगंगा नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने नदी तथा तटीय क्षेत्रबाट समेत अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी भइरहेको सूचना प्राप्त भएको जनाएको छ ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनविपरीत नगरपालिकाबाट स्वीकृत सीमा तथा बिन्दु (Coordinates) बाहिर गई नदीजन्य पदार्थ उत्खनन, ओसारपसार, बिक्री वितरण तथा निर्माण कार्य नगर्न/नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ ।

नगरपालिकाको क्षेत्राधिकारभित्र प्रवेश गरी अवैध उत्खनन वा चोरी–निकासीमा संलग्न भएको पाइएमा प्रयोग भएका सवारीसाधन तथा औजार जफत गरी कानुनबमोजिम दण्ड, जरिवाना तथा कारबाही गरिने सूचनामा उल्लेख छ ।
नगरपालिकाले यस्ता गैरकानुनी गतिविधि रोक्न सम्बन्धित सरोकारवाला, प्रहरी प्रशासन तथा स्थानीय नागरिकलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ ।
नगरप्रमुख देवीदत्त कँडेलद्वारा हस्ताक्षरित सूचनामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी–निकासी नियन्त्रणमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गरिएको छ ।




















