खाेज्नुहाेस

कञ्चनपुरका ३ स्थानमा भारी वर्षा

Image

अत्तरिया – कञ्चनपुरमा तीन स्थानमा भारी वर्षा मापन भएको छ । बुधवार देखि भइरहेको वर्षाका कारण यस क्षेत्रमा डुबान समेत भएको छ । अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार कञ्चनपुरका पछिल्लो २४ घण्टामा तीन स्थानमा भारी वर्षा मापन गरिएको छ । कार्यालय प्रमुख सञ्जय साहका अनुसार २४ घण्टामा कञ्चनपुरको रैकवार विचुवामा २६६.५ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै दोधरा चाँदनीमा १६७.३ र कृष्णपुरको खल्लागोठमा १५८.७ मिलिमिटर वर्षा मापन गरिएको छ । उनले २४ घण्टामा १४० मिलिमिटर भन्दा माथि वर्षा भएमा भारी वर्षाका रूपमा लिइने बताए ।

यता कैलालीको मालाखेतीमा पनि पछिल्लो २४ घण्टामा १३०.१ मिलिमिटर वर्षा मापन भएको छ । जुन पछिल्लो २४ घण्टामा कैलालीमा मापन भएको सबैभन्दा बढी वर्षा हो । यस्तै कैलालीको गेटा एयरपोर्ट क्षेत्रमा पनि ८८.६ मिलिमिटर वर्षा मापन भएको कार्यालय प्रमुख साहले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

उनका अनुसार अत्तरियामा भने पछिल्लो २४ घण्टामा ५८.३ मिलिमिटर वर्षा मापन भएको छ । अत्तरियामा बुधवार बिहान २८.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । यस्तै बिहीबार बिहान ८ः४५ देखि देखि साँझ ६ बजे सम्म १५.८ मिलिमिटर वर्षा मापन भएको उनले बताए । दुई दिन देखि सुदूरपश्चिमका तराइका क्षेत्रमा ठुलो वर्षा भए पनि पहाडी क्षेत्रमा भने ठुलो वर्षा नहुँदा नदीहरूमा ठुलो बाढी नआएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

पहाडी जिल्लाहरूमा वर्षा भए पनि थोरै वर्षा भएकाले कैलाली कञ्चनपुरमा भएको वर्षाले केही स्थानमा डुबान परे पनि नदीहरूमा ठुलो बाढी नआएको कार्यालय प्रमुख साहले बताए । उनका अनुसार बुधवार कैलारीको कटौनी नदीमा बाढीले खतराको तह पार गरे पनि अन्य नदीमा भने बिहीबार साँझ सम्म नदीमा बाढीले खतराको तह पार गरेको छैन ।

स्थानीय वर्षाका कारण कैलाली र कञ्चनपुरका केही क्षेत्रमा डुबान भएको छ । कैलालीको धनगढी क्षेत्र र कञ्चनपुरको पुनर्वास, कृष्णपुर, लाल झाडी, दोधरा चाँदनी क्षेत्रमा डुबान भएको छ ।