धनगढी – कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ । गाली बेइज्जती मुद्दामा अदालतबाट एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय पाएका भण्डारी बिहीबार कारागार चलान भएका हुन् ।

भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को १५५ बमोजिम रकम लिई कैद मिलान गरिपाउँ भन्दै जिल्ला अदालतमा कानुन व्यवसायीमार्फत निवेदन दिएका थिए । तर न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले मागबमोजिमको आदेश दिन अस्वीकार गरेपछि भण्डारी कारागार चलान भएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए ।


उनकाअनुसार उक्त व्यवस्था पहिलोपटक कैद सजाय तोकिएका प्रतिवादीको हकमा मात्र लागू हुने भएकाले भण्डारी यसअघि पनि कैद सजाय भइसकेका व्यक्ति भएकाले सुविधा नपाएका हुन् ।
निर्मला हत्या प्रकरणसँगै जोडिएको मुद्दामा पत्रकार भण्डारीलाई यसअघि एक घण्टा कैद र एक रुपैयाँ जरिवाना भएको थियो ।
पछिल्लो पटक निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग जोडिएको विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।

















