खाेज्नुहाेस

कैलालीमा टेम्पो भीरबाट खसालिएको घटनामा धनादेवीले बुझिन् पाँच लाख

Image

धनगढी – कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भीरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ । भीरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्रि गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति वापतको रकम दिएपछि विवाद टुंग्एिको हो ।

धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सव डिभिजन वन कार्यालय अत्तरियाका बरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ७÷७ हजार धरौटीमा छाडेको हो । धामी टेम्पाको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाइरहेकी थिइन् ।

attariya hospital
navjiwan hospital

वनका कर्मचारीले उनलाई क्षतिपूर्ति वाफत भन्दै पाँच लाख रुपैयाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उनीहरुबीचको विवाद समेत टुग्एिको छ । वन कर्मचारीले भीरमा फालेको सुपप्र ०१००१ ह ३१८० नम्बरको टेम्पो भने गरिमा विकास बैँकको नाममा रहेको पाइएको छ ।

कैलालीकै गोदावरीका कृष्णबहादुर थापाले गरिमा विकास बैँकबाट ऋण काढेर टेम्पो खरिद गरेका थिए । टेम्पोको सबै ऋण चुक्ता भइसकेपनि नामसारी नगरिएका कारण सवारीधनी बैँक नै रहेको छ । धामीले उक्त टेम्पो गोदावरीका एक स्थानीयबाट खरिद गरेको बताएकी छन् ।

टेम्पो भीरमा फालिएको घटनापछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा परेको थियो ।