अत्तरिया – कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्लाको कैलारी गाउँपालिका–५ पबेराबाट १६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय सुसान्त चौधरी र गौरीगंगा नगरपालिका–८ निवासी ३३ वर्षीय हेइमन बखरिया रहेका छन्। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको हो।


त्यसैगरी, भजनी नगरपालिका–१ भजनी बजारबाट ५७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, १३ हजार भारतीय रुपैयाँ र ८ हजार १४० नेपाली रुपैयाँसहित दुई महिलालाई बुधबार राति पक्राउ गरिएको छ। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ घण्टाघर निवासी २५ वर्षीया प्रेयंका चौधरी र भजनी नगरपालिका–८ सोनाफाँटा निवासी २२ वर्षीया कमला परियार रहेका छन्।
विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा लागूऔषध र नगद बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















