धनगढी – कैलालीको टिकापुर नगरपालिका–४ ठानापुरमा मोटरसाइकल र डल्लब (ट्र्याक्टरको ट्रली) एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय ४५ वर्षीय श्रीराम चौधरीले चलाएको डल्लब र बर्दगोरिया गाउँपालिका–४ मुडा निवासी ४० वर्षीय रुपलाल बादीले चलाएको सु.प.प्र.०१–०१२ प २१८३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बादीलाई उपचारका लागि टिकापुर अस्पताल हुँदै बाँकेको नेपालगञ्जस्थित वेस्टर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले गएराति उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















