अत्तरिया – कैलालीका फूल व्यवसायी र किसानहरूले भन्सार नाकामा भारतीय प्लास्टिकका फूल आयातमा कडाइ गर्न माग गरेका छन् । बुधवार कैलाली भन्सार कार्यालयका प्रमुखलाई भेटेर उनीहरूले भन्सार नाकाबाटै लुकीछिपी भारतबाट प्लास्टिकका फूल आयात भइरहेकाले गडाई गर्न माग गरेका हुन । पुष्प व्यवसायी संघ कैलालीका अध्यक्ष शङ्कर सिंह विष्टले सरकारले प्लास्टिकका फूलमा प्रतिबन्ध लगाएका भए पनि बजारमा छ्यापछ्याप्ती पाइने गरेको बताए ।
उनले सरकारले प्लास्टिकका फूलमा प्रतिबन्ध लगाएकाले आफूहरू पुष्प व्यवसायीमा लागेको भए पनि अहिले भारतबाट आयातित प्लास्टिकका फूल बजारमा छ्यापछ्याप्ती पाइन थालेपछि आफूहरूको व्यवसाय धरापमा परेको बताए । उनले भन्सारबाट साँझ बिहानको समयमा प्लास्टिकका फूल र नेचुरल फूल आयात हुने गरेको बताउँदै यसको नियन्त्रणका लागि कडाइ गरिदिन भन्सार कार्यालयलाई माग गरिएको बताए ।


‘बजारमा अहिले प्लास्टिकका फूलको प्रयोग बढेको छ’ उनले भने ‘पुष्प व्यवसाय भनेको तरकारी जस्तै नियमित प्रयोग हुने बस्तु हो । हामीले विवाह व्रत बन्ध चाडपर्व लक्षित गरेर फूल उत्पादन गर्ने गरेका छौ । तर, त्यही समयमा भारतबाट प्लास्टिकका फूलको आयात बढ्दा हाम्रो व्यवसाय घाटामा गएको छ ।’
सुदूरपश्चिम च्याम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले नेपाल सरकारको वन तथा वातावरण ऐन अनुसार प्रतिबन्धित सामाग्री खुल्लमखुल्ला बिक्री गरिरहेको पाइएको बताए । उनले सुदूरपश्चिम फूलमा आत्मनिर्भर बन्ने दिशामा भए पनि अहिले अनुगमन गर्ने निकायको कमजोरीका कारण भारतबाट व्यापक रूपमा प्लास्टिकका फुलजन्य बस्तुको आयात बढिरहेको बताए ।
‘प्लास्टिकका फुलजन्य सजावटका बस्तु वन तथा वातावरण ऐन अनुसार स्टोर होस, या सजाइएको भए पनि त्यसलाई छापा हानेर खारेज गर्ने अधिकार छ’ उनले भने ‘तर, यो अधिकार कसले कार्यान्वयन गर्ने भन्ने अन्योल छ । प्रशासनले राजस्व, राजस्वले भन्सार, भनेर एकले अर्कोलाई देखाउँदा यसको समस्या समाधान हुन सकेको छैन ।’ उनले चेम्बरले यस्ता बस्तुको नियन्त्रण गर्न एकले अर्कोलाई देखाउनु भन्दा यसको नियमनका लागि सबैलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको बताए ।
भन्सार कार्यालय कैलालीका प्रमुख अनन्त प्रसाद तिमिल्सेनाले प्लास्टिकका फूल आयातमा रोक लगाइएको बताउँदै त्यसमा थप कडाइ गर्ने बताए । उनले बिहान साँझको समयमा हुने तस्करीलाई रोक्नको थाली भन्सारमा थप जनशक्ति परिचालन गर्ने प्रतिबद्धता जनाए । उनले चोरी छिपी नेपाल भित्र्याइएका प्लास्टिकजन्य फूल लगायतका सजावटका सामाग्री जफत गर्नका लागि सरोकारवाला सँग समन्वयन गर्ने बताए ।

















