महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा सञ्चालन भइरहेको नेतृत्व विकाससम्बन्धी तालिम कार्यक्रममा प्रवेश गरी आयोजक पक्षसँग विवाद तथा हातपात गर्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार भीमदत्त नगरपालिका–८ को वडा कार्यालयको आयोजनामा महेन्द्रनगरस्थित होटल स्विट ड्रिमको सभा हलमा ‘सुनौलो भविष्य बाल क्लब’मा आबद्ध बालबालिकाका लागि तीनदिने नेतृत्व विकास तालिम सञ्चालन भइरहेको थियो ।


उक्त कार्यक्रमका क्रममा असार ७ गते भीमदत्त नगरपालिका–५ तिनतारा निवासी पत्रकार ऐश्वर्या कुँवरले कार्यक्रमस्थलमा प्रवेश गरी आयोजक वडा नम्बर १८ का वडाध्यक्ष रविन्द्र देवकोटा तथा नगरपालिकाकी कार्यपालिका सदस्य गीता भण्डारीसँग विवाद तथा हातपात गरेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले कुँवरलाई तत्काल नियन्त्रणमा लिई सार्वजनिक शान्ति तथा सुव्यवस्था सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


















