अत्तरिया – असारको चटारो सँगै अत्तरिया चोकमा नाला निर्माण र आकाशे पुलको काम धमाधम भइरहेको छ । लामो समयदेखि प्रतीक्षित अत्तरियाको पहाड रोडको नाला र सुदूरपश्चिम मै पहिलो पटक निर्माण हुन लागेको आकाशे पुलको काम धमाधम भइरहेको हो ।
अत्तरियाको पहाड रोडमा नाला भए पनि जीर्ण अवस्थामा रहेको थियो । नालाको पानी निकास नहुँदा अत्तरिया चोक सुख्खा समयमा पनि नालाको पानीले हिलाम्मे हुने गरेको थियो । ढक्कन नभएको जीर्ण नालामा बर्सातको समयमा पटक पटक दुर्घटना समेत हुने गरेका थिए । लामो समयदेखि निर्माणमा बेवास्ता गरिएको नाला हाल सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत निर्माण भइरहेको हो ।

सो योजना अन्तरगत अत्तरिया चोकको धनगढी रोड र पूर्व रोडमा नाला निर्माणको काम सकिएको छ भने शनिवार देखि पहाड रोडको काम सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालयले हाल अत्तरिया चोकमा करिब ३५० मिटर नाला निर्माणका लागि सप्तऋषि कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार धनगढी रोडको ६ लेन सडकको नाला देखि पूर्व रोडमा रहेको ट्राफिक पोस्ट अगाडि सम्म करिब अढाई सय मिटर नाला निर्माण सम्पन्न भएको छ भने बाकी नाला अत्तरिया चोकको पहाड रोडमा निर्माण गर्न लागिएको हो ।
अत्तरियाका स्थानीय हर्क कामीले विगत लामो समय देखि अत्तरिया चोकको पहाड रोडमा नाला निर्माणको माग गर्दै आएकोमा बल्ल सुरु भएको बताए । उनले नाला नहुँदा अत्तरियाको पहाड रोड दुर्गन्धित बनेको बताए । नाला निर्माण भएमा पानी जम्ने समस्या हट्ने आशा रहेको उनले बताए । उक्त क्षेत्रमा लामो समय देखि नालामा पानीको निकास नभएर सर्भिस लेनमा पानी जम्ने गरेको थियो । जसका कारण सर्भिस लेनको कालोपत्रे पुरै उप्किसकेको छ ।
चोकको धनगढी रोडमा हाल गोदावरी नगरपालिकाले अघि सारेको आकाशे पुलको काम पनि धमाधम भइरहेको छ । उक्त आकाशे पुलको जेठ २ गते गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले शिलान्यास गरेका थिए । एक करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँ लागतको उक्त पुल निर्माण गर्नका लागि कृजल त्रिनेत्र सिद्ध नाथ जेभी सँग ठेक्का सम्झौता गरिएको छ । पुल निर्माणको म्याद पुस मसान्तसम्म भए पनि ठेकेदारले फाउन्डेसन निर्माणको काम धमाधम गरिरहेको छ । अत्तरिया चोकमा आकाशे पुल निर्माण गर्ने घोषणा चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट ल्याउँदा गत असार मै गरिएको थियो ।
चोकमा आकाशे पुल निर्माणको नयाँ योजना ल्याइएपछि केहीले त्यसको विरोध पनि गरिरहेका छन् । चोक वरिपरि जीर्ण नाला र सडकको समस्या रहेका बेला आकाशे पुललाई प्राथमिकता दिएको भन्दै विरोध गरिँदै आएको छ । यद्यपि नगरपालिकाले भने सवारी चापका कारण बाटो काट्न समस्या हुने गरेकाले आकाशे पुलको आवश्यकता रहेको जनाउँदै आएको छ । आकाशे पुल निर्माणको म्याद पुस मसान्त सम्म रहेको छ ।

















