डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। २०७७ सालको सरकारी नीति अनुसार निर्माण गरिएको अस्पताल वैशाख १६ गतेदेखि एमबीबीएस चिकित्सकसहित सञ्चालनमा आएको हो। यससँगै गन्यापधुरा स्थानीय तहको अस्पताल सञ्चालन गर्ने जिल्लाकै पहिलो पालिका बनेको छ।

१५ करोड ५७ लाख रुपैयाँ लागतको अस्पताल निर्माणका लागि हालसम्म १३ करोड ३६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ जनाको दरबन्दी स्वीकृत भए पनि हाल १३ कर्मचारी कार्यरत छन्।

अस्पतालमा ओपीडी, आकस्मिक, अन्तरंग, ल्याब तथा फार्मेसी सेवा सञ्चालनमा छन्। दैनिक १५–२० बिरामी उपचारका लागि आउने गरेका छन्। एक्स–रे, अल्ट्रासाउन्ड र ईसीजी सेवा भने अझै सञ्चालनमा आइसकेका छैनन्।
स्थानीयले अब सामान्य उपचारका लागि सदरमुकाम वा धनगढी जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरेका छन् भने गाउँपालिकाले आवश्यक जनशक्ति र उपकरण थप्दै सेवा विस्तार गर्ने जनाएको छ।



















