खाेज्नुहाेस

गेटा शिक्षण अस्पतालमा चालु आर्थिक वर्षभित्रै क्याथ ल्याबदेखि एमआरआईसम्मका सेवा सञ्चालन गरिने

Image

कैलाली – कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा चालु आर्थिक वर्ष २०८३/८४ भित्रै क्याथ ल्याब, बर्न युनिट, ट्रमा सेन्टर, सिटी स्क्यान र एमआरआई सेवा सञ्चालन गर्ने योजना अघि बढाइएको छ।

विश्वविद्यालयका उपकुलपति डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीमबहादुर चन्द नियुक्त भएको १०० दिन पूरा भएको अवसरमा बुधबार सार्वजनिक प्रगति विवरणमा अस्पतालको विशिष्टीकृत सेवा विस्तारलाई प्राथमिकतामा राखिएको जनाइएको हो।

attariya hospital

विश्वविद्यालयका अनुसार क्याथ ल्याब स्थापना गरी मुटुरोगसम्बन्धी विशिष्टीकृत उपचार सेवा विकास गर्ने योजना छ। त्यस्तै, आगोले पोलेका बिरामीको उपचारका लागि बर्न युनिट, दुर्घटनामा परेका तथा गम्भीर चोटपटक लागेका बिरामीको उपचारका लागि ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको छ। सिटी स्क्यान र एमआरआई सेवा सञ्चालनलाई पनि प्राथमिकतामा राखिएको छ।

navjiwan hospital

अस्पतालमा हाल आकस्मिक उपचार, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), बाल सघन उपचार कक्ष (पीआईसीयू), उच्च निर्भरता उपचार कक्ष (एचडीयू) तथा शल्यक्रियासहितका सेवा सञ्चालनमा छन्। जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, बालरोग, मानसिक रोग, छालारोग, नाक–कान–घाँटी, न्युरोलोजी र दन्तरोगलगायतका विभागबाट पनि सेवा उपलब्ध रहेको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयको प्रगति विवरणअनुसार शिक्षण अस्पतालमा हाल ६२२ शय्या व्यवस्थापन गरिएको छ। अस्पतालको सेवा क्षमता विस्तारका लागि रक्षा मन्त्रालयमार्फत प्राप्त ५०० थान शय्या इन्डोर वार्ड, आईसीयू तथा आकस्मिक कक्षमा व्यवस्थापन गरिएको छ।

यसैगरी, डायलाइसिस, युरोलोजी, क्यान्सर रोगसम्बन्धी उपचार, ब्लड बैंक स्थापना तथा प्रसूति शल्यक्रिया कक्षलगायतका सेवा विस्तारलाई पनि आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको छ।

अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापनको कामसमेत अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। उपकुलपति डा. जोशीले सुदूरपश्चिमका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय, सर्वसुलभ तथा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने र दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालयको विकासका काम अघि बढाइएको बताएका छन्।

प्रस्तावित विशिष्टीकृत सेवा सञ्चालनमा आएमा सुदूरपश्चिमका बिरामीलाई मुटुरोग, गम्भीर चोटपटक तथा अन्य जटिल स्वास्थ्य समस्याको उपचारका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।