अछाम – अछामको ढकारी गाउँपालिकाले शनिबारको विदा कटौती गरेर आधा दिन (हाप डे) कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कार्यपालिका बैठकले अबदेखि शनिबार बिदा नदिने निर्णय गरेको हो । तर, शनिबार पुरै समय भने कार्यालय सञ्चालन हुने छैन ।

प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्णय गरिएको छ । आइतबार भने तोकिएबमोजिम नै बिदा हुने उल्लेख छ । सोमबार देखि शुक्रबार सम्म पनि कार्यालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्न जनाइएको छ ।

विज्ञप्तीमा उक्त नियम गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुको हकमा लागु हुने छ । सामुदायिक तथासंस्थागत विद्यालयहरुमा भने सोमबार देखि शुक्रबार सम्म विहान १० बजेदेखि ४ बजे र शनिबार बिहान १० देखि १ बजे सम्म सञ्चालन हुने उल्लेख छ । विद्यालयमा पनि आइतबारको विदालाई निरन्तरता दिइएको छ ।
यसअघि नेपाल सरकारले गत चैत २३ गतेदेखि आइतबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जसमा कार्यालयको हकमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र विद्यालयको हकमा १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्नुपर्ने नियम लागू गरिएको थियो ।


















