धनगढी – कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जनाविरूद्ध मुद्दा चलेको छ । प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्ति विरूद्धको कसुरमा मुद्दा चलाएको जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो । बाँकी १० जनालाई रिहा गरिएको उनले जानकारी दिए । पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उनले बताए ।
यो घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समितिसमेत गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।


गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए ।
धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा टेम्पो रोकेर त्यसमै पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायत बिक्री गर्दै आएकी थिइन् ।
सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको टेम्पो भिरबाट खसालिदिएका थिए । उक्त घटनाको सामाजिक सञ्जालहरूमा आलोचनासमेत भएको थियो ।
यस घटनामा डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य प्रकाशित गर्दै बचाउ गरेका थिए । प्रचार गरिए जसरी टेम्पो भिरबाट जानाजान नखसालिएको, बरू अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सञ्चालनमा नरहेको तथा गुड्न नसक्ने कबाड अवस्थाको टेम्पो भिरबाट खस्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।


















