अछाम – अछामको ढकारी गाउँपालिका–४ की वडा सदस्य मनिषादेवी साउँद मृत फेला परेकी छिन । शुक्रबार बिहान देखि घरपरिवारको सम्पर्कमा नरहेकी ३५ वर्षीया साउँद जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मनिषाको परिवारले शनिबार दिउँसो करिब २ बजे प्रहरी चौकी ढकारीमा हुलिया सहित निवेदन दिएपछि प्रहरी टोली र स्थानीयवासी मिलेर खोजतलास सुरु गरेका थिए ।

खोजीका क्रममा आइतवार साँझ घरदेखि करिब पाँच सय मिटर टाढा पर्ने पाले वन क्षेत्रभित्र सालको रूखमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेको अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले प्रहरीका जानकारी दिए ।
डिएसपी खनालले साउँद मृत्यु प्रकरणका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । उनले नियन्त्रणमा लिएको व्यक्तिको पहिचान भने अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए । मृतक साउँदका पति भने रोजगारीका लागि भारतमा रहेको बताइएको छ ।

















