अत्तरिया– विद्यालय भन्नासाथ धेरैको मनमा किताब, कापी, पढाइ र परीक्षाको दृश्य आउँछ । सामान्यतया विद्यालयमा पठनपाठन, परीक्षा र खेलकुदजस्ता गतिविधि सञ्चालन हुन्छन् । तर, कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले शिक्षाको परिभाषालाई कक्षाकोठाभन्दा बाहिरसम्म विस्तार गर्ने प्रयास थालेको छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै मानवीय संवेदना, सहयोग र सामाजिक उत्तरदायित्वको पाठ सिकाउने उद्देश्यले विद्यालयले खाद्य बैंक र कपडा बैंक स्थापना गरेको छ ।
सामुदायिक विद्यालयहरूमध्ये पहिलो पटक गरिएको भनिएको यस पहलले विद्यालयलाई पढ्ने र पढाउने थलोमा मात्र सीमित नराखी सहयोग र सद्भाव बाँड्ने साझा स्थानका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । विद्यालयले शुक्रबारदेखि सुरु गरेको यस अभियानमार्फत आवश्यकतामा रहेका विद्यार्थीका परिवारलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पारिवारिक पृष्ठभूमि बुझ्दै जाँदा यस्तो अभियानको आवश्यकता महसुस भएको बताए । विद्यालयमा अध्ययनरत धेरैजसो विद्यार्थीको पारिवारिक अवस्था निकै कमजोर रहेको थाहा पाएपछि उनीहरूलाई विद्यालयका तर्फबाट गर्न सकिने सहयोगका रूपमा खाद्य बैंक र कपडा बैंक स्थापना गर्ने योजना अघि सारिएको उनले बताए ।
प्रधानाध्यापक महताका अनुसार यस अभियानको सुरुवात हुनुका पछाडि एक विद्यार्थीको पीडादायी कथा जोडिएको छ । एक दिन गृहकार्य नगरेको भन्दै शिक्षकले कार्यालयमा पठाएकी विद्यार्थीलाई गृहकार्य नगर्नुको कारण सोध्दा उनले दुई दिनदेखि खाना नखाएको बताएको र सोही कुराले विद्यालयमा खाद्य बैंकको योजना अघि सरेको उनले बताए ।
‘एक जना विद्यार्थीले दिनदिनै गृहकार्य गर्दिनन् भनेर सरले अफिसमा पठाउनुभएको थियो । मैले किन गर्दैनौ भनेर सोध्दा मलाई गृहकार्य गर्ने जाँगर नै हुँदैन, अहिले पनि बोल्ने शक्ति छैन भनिन् । किन छैन भनेर सोध्दा मैले दुई दिनदेखि खाना खाएको छैन भनिन् । किन खाना नखाएको भनेर सोध्दा मेरो घरमा खाना नै हुँदैन, हामी कहिले दुई दिनमा त कहिले तीन दिनमा खाना खान्छौँ भनिन्,’ बालिकाको कथा सुनाउँदै प्रधानाध्यापक महताले भने ‘एकदमै दया लागेर आयो । पेटभरि खाना छैन, शरीरमा कपडा छैन भने उसको पढाइ राम्रो हुने कल्पना गर्न सकिँदैन । यसको समाधानका लागि हामीले के गर्न सक्छौँ ? सधैँ राज्यलाई मात्रै दोष दिएर हुँदैन, हामीले आफ्नो तर्फबाट पनि केही गर्नुपर्छ भन्ने सोचेर विद्यालयका शिक्षक तथा कर्मचारीबीच छलफल ग¥यौँ । सबै शिक्षकले खाद्य बैंक र कपडा बैंक स्थापना गर्ने सहमति जनाएपछि हामीले यो अभियान थालेका हौँ ।’

उनका अनुसार कक्षाकोठामा केही विद्यार्थीको उपस्थिति न्यून देखिएको, पढाइमा कमजोर रहेको र गृहकार्यसमेत नगर्ने गरेको पाइएपछि उनीहरूको पारिवारिक पृष्ठभूमि बुझ्न कार्यमूलक अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा ती विद्यार्थीहरूको पारिवारिक अवस्था निकै दयनीय र तनावपूर्ण रहेको पाइएको उनले बताए ।
कतिपय विद्यार्थी टुहुरा, आफ्नो घर नभएका र अरूको घरमा आश्रय लिएर बसेका अनुसन्धानका क्रममा भेटिएको उनले बताए । केहीका आमाबुवाबीच सम्बन्धविच्छेद भएको छ भने कतिपयको परिवारमा निरन्तर कलह हुने गरेको, पारिवारिक समस्याका कारण कतिपय बालबालिका मानसिक त्रासमा समेत रहने गरेको पाईएको महताले बताए ।
‘आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकिरहेका बालबालिकाले पढाइलाई कसरी अगाडि बढाउन सक्छन् भन्ने विचार मनमा आयो,’ उनले भने, ‘त्यस्ता विद्यार्थीलाई पेटभरि खाना र अन्य विद्यार्थीसमान शरीरमा लगाउने कपडा उपलब्ध गराउने उद्देश्यले खाद्य बैंक र कपडा बैंक स्थापना गरेका हौँ । विद्यार्थीले पेटभरि खाना खान र अरूले जस्तै लुगा लगाउन पाए पढाइमा ध्यान दिन सक्ने र शैक्षिक स्तरमा सुधार आउने अपेक्षा गरेका छौँ ।’
विद्यालयले शुक्रबार ३९ जना विद्यार्थीका परिवारलाई खाद्यान्न तथा अन्य सामग्री वितरण गरेको छ । प्रत्येक परिवारलाई २५ किलो चामल, १० किलो पिठो, दुई किलो दाल, एक लिटर तेल, दुई किलो नुनलगायतका सामग्री प्रदान गरिएको प्रधानाध्यापक महताले बताए ।
दुर्गालक्ष्मीमा जस्तै अन्य सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पारिवारिक अवस्था पनि यस्तै हुन सक्ने उनको भनाइ छ । विद्यार्थीको अवस्था बुझेर शिक्षकहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले सक्ने सहयोग गर्न तयार हुनुपर्ने उनले बताए । विद्यालयले प्रत्येक महिनाको अन्तिम हप्ता आवश्यकतामा रहेका विद्यार्थीका परिवारलाई खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ । खाद्य बैंक तथा कपडा बैंकमा सहयोग गर्न चाहने अभिभावक, व्यवसायी र अन्य सङ्घसंस्थाका लागि विद्यालय मध्यस्थकर्ताका रूपमा उभिन तयार रहेको पनि प्रधानाध्यापक महताले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टले नजिकिदै गरेको हिन्दुधर्मावलम्बीहरुको महान पर्व विजया दशमी र दिपावलीको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नियास्रो महसुस नगरुन भन्नका लागि खाद्यान्न तथा कपडा वितरण गरिएको बताए । उनले दुर्गालक्ष्मीले बनाएको ‘हुनेले दिने नहुनेले लगेर जाने’ निति अनुसार यस्ता कार्य गर्दै आएको बताए । उनले यस्ता कुराहरु अन्य विद्यालयले पनि सिक्न जरुरी रहेको समेत बताए । उनले दशैँको मुखमा खाना अभावले र एकसरो लगाउने लुगाको अभावले कुनै विद्यार्थीलाई पनि हिनताबोध नहोस भन्ने चाहना विद्यालयको रहेको बताए । उनले विद्यालयले शिक्षा मात्रै नभई विद्यार्थीहरुलाई माया बाड्ने र आवश्यक सहयोग गर्ने काम पनि गर्नुपर्ने बताए ।
दैनिक आवश्यकताका सामग्री जुटाउनसमेत कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी सुरु गरिएको यो अभियानले अभावमा रहेका विद्यार्थीका परिवारको जीवनमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ ।
















