धनगढी– नेपाल प्रिमियर लिग (एनपीएल) को टीम सुदूरपश्चिम रोयल्सले बायाँहाते तीब्र गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाडीका रुपमा छनौट गरेको छ । यसअघि एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका थलाल तेस्रो सिजनमा भने आइकोनिक खेलाडीका रुपमा छनौट भएका हुन् ।

तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्ट आयोजना गरेको थियो । प्रदेशका विभिन्न जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टमार्फत स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको थियो । ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीलाई समेटिएको थियो । सो ट्यालेन्ट हन्टबाटै डडेल्धुराका थलाललाई आईकोनिक खेलाडीका रुपमा छनौट गरिएको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।

असोज १४ गते बैतडीको डिलासैनीमा दार्चुला र बैतडीका खेलाडीबाट सुरु भएको ट्यालेन्ट हन्ट असोज १५ गते बझाङ, असोज १६ गते डोटी र डडेल्धुरा तथा असोज १७ गते अछाम र बाजुरामा पुगेको थियो । असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको ट्यालेन्ट हन्ट गरिएको थियो । ट्यालेन्ट हन्टको अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा आयोजना गरिएको थियो ।
ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा समेत छनोट गरिएको छ । उनीहरू सबै सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन् ।
















