कैलाली– सहिद शरदकुमार गौचनको स्मृति दिवसका अवसरमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । सहिद गौचनको नवौँ स्मृति दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ कैलालीले बिरामीहरुलाई फलफुल र जुस वितरण गरेको हो ।

दिवसका अवसरमा सेती अस्पतालमा रहेका विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको थियो भने स्मृति सभाको आयोजना पनि गरिएको थियो । सभामा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठी, सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य तथा सल्लाहकारहरू, महासचिव खेमराज जोशी, उपमहासचिव नीतिगत आङदावास शेर्पा, निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष दीर्घराज जोशी, महासचिवलगायत विभिन्न पदाधिकारी तथा निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठीले सहिद शरदकुमार गौचनको योगदान र बलिदानलाई स्मरण गरे । उनले सहिद गौचनले देखाएको मार्गलाई आत्मसात् गर्नुपर्ने बताए । उनले स्मृति दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी मानवीय सेवासँग जोड्नु सकारात्मक भएको उल्लेख गर्दै बिरामीलाई फलफूल तथा जुस वितरण गर्ने कार्यले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई उजागर गरेको बताए ।
















