बझाङ – सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङले मापदण्ड पुरा गरेको प्रमाण बिनै अनुदान वितरण गरेको पाइएको छ ।

प्रदेश सरकारको महालेखा परीक्षणको प्रतिवेदन २०८३ मा उक्त कार्यालयले मापदण्ड पुरा गरे नगरेको प्रमाण बेगर ९ व्यक्ति तथा समूहलाई ११ लाख ३३ हजार अनुदान दिएको औँल्याएको छ । प्रदेश सरकारको मिट मार्ट कार्यक्रम अन्तरगत उक्त अनुदान वितरण गरिएको थियो ।

मिट मार्ट कार्यक्रम संलग्न हुन दैनिक ठुलो पशुको हकमा १०० केजी र साना पशुको हकमा ५० केजी मासु बिक्री गर्नुपर्ने, सहर उन्मुख क्षेत्रलाई लक्षित गरी मासुको बिक्री वितरण गर्ने व्यवसायीलाई मात्रै प्राथमिकता दिने र पशुबध गर्दा निस्कने फोहोर मैलाको व्यवस्थापन गर्नुपर्ने व्यवस्था रहेको छ ।
सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन निर्देशिका २०८० को दफा २ (घ) को बुँदा नम्बर ४.७ मा कार्यक्रम सञ्चालन प्रक्रिया पुरा गर्नुपर्ने मापदण्ड सम्बन्धी व्यवस्था रहेको छ ।



















